मोहम्मद (स.अ.व.) जन्मोत्सवमा मुस्लिम समुदायकै रक्तदान, महिलाको समेत सहभागिता

झापा, बिर्तामोड १६ / पैगम्बर मोहम्मद (स.अ.व.) को १५०० औं जन्मोत्सवको अवसरमा बिर्तामोडमा आयोजित रक्तदान कार्यक्रममा मुस्लिम समुदायले सक्रिय सहभागिता जनाएका छन्। आज मदरसा तालिमुल कुरान विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा मुस्लिम पुरुषसँगै महिलाले समेत रक्तदान गरेपछि विशेष चर्चा भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई रहनुभएको थियो। उहाँले रक्तदानलाई जीवनदानको महान कार्य भन्दै मुस्लिम समुदायले देखाएको उदाहरण प्रशंसनीय भएको बताउनुभयो।
“पहिले मुस्लिम समुदाय रक्तदानमा कमै देखिन्थ्यो भन्ने बुझाइ थियो। तर आज महिलासहित मुस्लिम समुदायको सहभागिताले सामाजिक सद्भाव, सहिष्णुता र स्वास्थ्यप्रतिको सचेतना सबैलाई प्रेरणा दिने खालको छ,” नगर प्रमुख प्रसाईले भन्नुभयो।

विशेष अतिथिमा वडा नं. ३ का अध्यक्ष मदन बुडाथोकी, वडा सदस्य हरि बास्कोटा, सुबाष भट्टराई, देबराज कार्की, कोसिस घिमिरे, सजेस सिवाकोटी, बलराम कार्की, मनोज रौनियार, कैलाश प्रसाईलगायतको उपस्थिति रहेको थियो।

रक्तदानमा करिब ३५ जनाले सहभागिता जनाएका थिए। विशेष गरी मुस्लिम समुदाय रक्तदानमा कमै देखिने धारणा रहँदै आएकोमा यसपालि महिलासहितको सहभागिताले नयाँ सन्देश दिएको स्थानीयले बताए।

कार्यक्रमको आयोजना मुस्लिम समाज विकास प्रतिष्ठान, बिर्तामोडले गरेको थियो। प्रतिष्ठानका अध्यक्ष अफ्रोज खान पठानले रक्तदानलाई मानवीय मूल्य र सामुदायिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्न सफल भएको बताए।

मदरसा परिसरमै पहिलोपटक आयोजित रक्तदान कार्यक्रममा सामुदायिक एकता र धार्मिक सहिष्णुताको सन्देशसहित स्वास्थ्यप्रतिको जागरण देखिएको आयोजकहरूले बताएका छन्।