तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा कचनकवलको बगान युथ क्लबले सुनसरीको न्यू स्टार क्लबलाई ३-० को अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको ६०औं मिनेटमा मिलन चाम्लिङ राईले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ६५औं मिनेटमा दिपेश श्रेष्ठले दोस्रो गोल थपे। ६९औं मिनेटमा पुनः मिलन चाम्लिङ राईले गोल गर्दै टोलीको अग्रतालाई फराकिलो पारे।
यस खेलका प्लेयर अफ द म्याच मिलन चाम्लिङ राई घोषित भए उनले नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। प्रमुख अतिथि बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, आयोजकका अध्यक्ष हिमाल कन्दङवा लगायतले उनलाई पुरस्कार प्रदान गरे।
भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लब र इलामको रेडहर्स फुटबल क्लब आमनेसामने हुनेछन्। आयोजक क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले यसबारे जानकारी गराएका छन्।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् भने उपविजेता टोलीलाई १ लाख १ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ३ हजार प्रदान गरिनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र उत्कृष्ट गोलकिपरलाई १० हजार नगद पुरस्कार प्रदान गरिने वरिष्ठ उपाध्यक्ष मरिचमान राईले बताए।
प्रतियोगितालाई सफल बनाउन स्थानीय खेलप्रेमी तथा फुटबल समर्थकहरूको उल्लेखनीय साथ रहेको छ