मङ्गल एकता टोल विकास संस्थाको तेस्रो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति गठन

९ चैत्र २०८१, बिर्तामोड। मङ्गल एकता टोल विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा ५ नं. वडाका वडाध्यक्ष रोहित प्रसाईंको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष अप्सरा कार्कीले राखेकी थिइन् भने सञ्चालन खगेन्द्र प्रसाईंले गरेका थिए।

साधारणसभामा अध्यक्ष बम बहादुर कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको उपलब्धिहरू तथा आगामी योजनाहरूबारे जानकारी गराए। प्रमुख अतिथि वडाध्यक्ष रोहित प्रसाईंले टोल विकास संस्थाले स्थानीय स्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै समुदायको समृद्धिका लागि अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राखे। टोल महिला समिति अध्यक्ष दुर्गा रिजालले आगामी दिनमा थप सक्रिय कार्यक्रमहरू आवश्यक रहेको बताइन्।

साधारणसभासँगै संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। यस पटकको निर्वाचनबाट पुनः बम बहादुर कार्की अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा भानु दाहाल, सचिवमा मिलन भट्टराई, सहसचिवमा मिना पाठक, कोषाध्यक्षमा बबिता खनाल चयन भएका छन् भने सदस्यहरूमा निश्चल आचार्य, चन्द्र थापा, पुष्प दुलाल, शान्ता लिम्बु, मेनुका लिम्बु र काजीमान कार्की निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले टोलको पूर्वाधार विकास, शिक्षा, सरसफाइ, सामाजिक सद्भाव तथा अन्य विकास परियोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।