बिर्तामोड-७ मियाबारीमा आयोजित दुईदिने धार्मिक प्रवचन तथा जलसा कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ।

“ताजदारे मदिना कन्फ्रेन्स” अन्तर्गत आयोजित कार्यक्रममा प्रमुख गुरु सैय्यद बाबू हजुर खानकाए समरकन्दिया, सैय्यद कयामुद्दिन अशरफ र सैय्यद अहमद अबरार अहमदको उपस्थिति रहेको छ। कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईंले गर्नुभयो। उद्घाटन समारोहमा नगर उपप्रमुख नगेंद्र संग्रौला, नेपाली कांग्रेस नगर सभापति भोजराज सिटौला, नेकपा (एमाले) नगर अध्यक्ष सुभाष भट्टराई, बिर्तामोड-७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, वडा अध्यक्ष मदन बुढाथोकी, समाजसेवी सजेश सिवाकोटी, मुस्लिम संगठनका केन्द्रीय सचिव अफ्रोज खानलगायतको उपस्थिति थियो।

उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख प्रसाईंले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले सबैले आफ्नो धर्म तथा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा समाजसेवी अफ्रोज खानले स्वागत मन्तव्य राख्नुभएको थियो। शनिबार हुने जलसामा पैगम्बर मोहम्मदका वंशज सैय्यद बाबू हजुर, सैय्यद कयामुद्दिन अशरफ र सैय्यद अहमद अबरार अहमदज्यूको उपस्थितिमा धार्मिक प्रवचन हुने कार्यक्रम रहेको छ।

कार्यक्रमका अध्यक्षले सम्पूर्ण प्रमुख अतिथि तथा उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। साथै, भोलि (शनिबार) हुने जलसामा सबै जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका नेताहरू तथा धर्मप्रेमी महानुभावहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरिएको छ। कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष तथा प्रबन्ध निर्देशक इसाक आलम, उपाध्यक्ष अकबर आलम र मजेबुल मियाले सबैलाई सहभागी भई कार्यक्रम भव्य बनाउन आग्रह गर्नुभएको छ।