नेकपा (एमाले) को सचेतना कार्यक्रम झापाका सबै वडामा सम्पन्न

झापा, चैत ११ – नेकपा (एमाले) द्वारा सञ्चालन गरिएको सचेतना कार्यक्रम आज झापा जिल्लाका सम्पूर्ण वडाहरूमा एकैसाथ सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य लोकतान्त्रिक गणतन्त्रबारे फैलाइएका अफवाह चिर्नु रहेको बिर्तामोड नगर कमिटीका उपाध्यक्ष मदन बुढाथोकीले बताएका छन्।

बिर्तामोड–३ मा आयोजित भेलालाई सम्बोधन गर्दै बुढाथोकीले हालको व्यवस्थालाई असफल पार्न केही तत्वहरू सक्रिय रहेको उल्लेख गरे। त्यस्तै, बिर्तामोड–८ मा आयोजित भेलालाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका खानेपानी, कृषि तथा ऊर्जा मन्त्री एवं प्रदेश सांसद एकराज कार्कीले निरङ्कुश राजतन्त्र र लोकतान्त्रिक गणतन्त्रको तुलना हास्यास्पद भएको बताएका छन्।

यसै क्रममा, बिर्तामोड ३, बिर्ताबजारमा आयोजित भेलालाई सम्बोधन गर्दै देवराज कार्कीले राजतन्त्र इतिहासको चिहानमा पुगिसकेको र अब फर्किन नसक्ने धारणा राखे।

बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले बिर्तामोड–७ को भेलालाई सम्बोधन गर्दै पार्टीका सम्पूर्ण कार्यकर्ताहरूलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा अडिग भएर अघि बढ्न निर्देशन दिएका छन्।

सचेतना कार्यक्रममा एमालेका केन्द्रीय कमिटीदेखि टोल कमिटीसम्मका पदाधिकारी, संगठित सदस्यहरू र गणतन्त्र पक्षधर सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको उपाध्यक्ष बुढाथोकीले जानकारी दिए। साथै, उनले पछिल्लो समय देशमा तीव्र विकास गतिविधिहरू भइरहेका कारण विरोधीहरू व्यवस्थाविरोधी नारा उठाउँदै सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको दाबी गरे।