बिर्तामोड ९ खामतेलबारी टोलका बासिन्दाको गुनासो – खानेपानीको पाइप त आयो, तर पानी नै आएन

झापा । बिर्तामोड नगरपालिका वडा नं. ९ खामतेलबारी टोलका स्थानीयवासी केही समयअघि निकै खुसी थिए । टोल–टोलमा खानेपानीको पाइप विस्तार हुँदै थियो, धारा जडान भइरहेको थियो । ‘अब त घरघरमै पानी आयो’ भन्ने आशामा धेरैले राहतको सास फेरे । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको पाइप विस्तार गर्योे । करिब १० किलोमिटर टाढाको ट्याङ्कीबाट पाइप ल्याइएको थियो । सुरुवातमा त सब ठीकै लाग्यो -३ महिना पानी आयो पनि । तर त्यसपछि अचानक पानी नै आउन छाड्यो । अब तीन महिना भयो, पानी छैन ।

खानेपानीको पाइप बिस्तार ता कै स्थानियले पाइप सानो भयो, पानी नपुग्न सक्छ भनेर जानकारी गराएको तर पनि वास्ता नगरीएको गुनासो पोखे । उनीहरु भन्छन्, सानो पाइपले पानीको दबाब नै पुग्न सकेन, अनि धारा सुक्न थाल्यो । जसको असर अहिले दिन–दिनै देखिन थालेको छ । सुरुमा आइरन मिसिएको पानी पिउनुपर्ने वाध्यता थियो अब त्यो समस्या टर्यो भन्दै गाउँले खुसी भए । जसरी पनि पानी आयो भन्ने सोचले सबैले स्वागत पनि गरे । तर त्यो खुसी धेरै दिन टिक्न सकेन ।

धेरैजसो ठाउँमा धारा हेरेर टोलाइरहनु बाहेक स्थानियबासीको अरु बिकल्प केही छैन । पानी आइरनयुक्त भएकाले घरघरमा फिल्टर राखेर प्रयोग गरिन्थ्यो । तर खाने पानी आएपछि पुराना फिल्टर प्रतिस्थापित भए । अहिले कतिपयले त पुराना फिल्टर सफा गरेर प्रयोग गरिरहेका छन्, तर कतिले भने अर्को टोलसम्म गाग्रो लिएर पानी लिन जानुपर्ने बाध्यता छ ।

खानेपानीको यो समस्या सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि समाधान नभएको स्थानीयको गुनासो छ । सानो पाइप हटाएर ठुलो पाइप राख्नुपर्ने, पानीको दबाब बढाउनुपर्ने, टंकीको नजिक केही वैकल्पिक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेका छन् । तर सुनुवाइ नै नहुँदा गाउँलेको भरोसा समेत हराउँदै गएको छ । अब त अति भएर समितिका मानिसको घर घरको पानी मिटर खुस्काइदिने सम्मको आक्रोेस पोख्न भ्याएका छन् ।

उनीहरुले आफुलाई खानेपानी भन्दा पनि धोका पाइयो जस्तो लागेको गुनासो गरेका छन् । धारा त आयो, तर पानी छैन भने त्यो किन चाहियो उनीहरु भन्छन् खानेपानी मानव अधिकार हो भनिन्छ, तर हाम्रो अधिकार खोइ ? यति धेरै खर्च गरेर विस्तार गरिएको योजना स्थायी हुन सकेन भने त्यसले झनै ठूलो असन्तुष्टि जन्माउने देखिएको छ । स्थानीय सरकार र उपभोक्ता संस्थाले यो समस्यालाई गम्भीर रूपमा लिएर समाधानको पहल नगरे, बिर्तामोड– ९ मा खानेपानीको समस्या अझ भयावह बन्ने निश्चित देखिन्छ । पानीको आधारभूत आवश्यकता टुलुटुलु हेरेर पर्खिरहनुपर्ने अवस्था कहिलेसम्म भन्ने गुनासो अब धेरैको आवाज बनेको छ । बिर्तामोड ९ खामतेलबारी टोलका स्थानीयवासी भन्छन्, सपना देखाइयो, तर तिर्खा मेटिएन ।