नेपाल विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तन: कुलमान घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं, चैत ११ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

सरकारको नयाँ निर्णयअनुसार हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ। मन्त्रिपरिषद् बैठकले शाक्यलाई जिम्मेवारी सुम्पने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि सरकारले घिसिङमाथि चारवटा प्रमुख आरोप लगाउँदै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। ती आरोपहरूमा भारतबाट महँगो मूल्यमा विद्युत खरिद गरेको, कार्यसम्पादन मूल्यांकनका लागि आवश्यक कागजात समयमा नबुझाएको, शून्य अंक प्राप्त गरेको तथा प्राधिकरणको नाफा कृत्रिम रूपमा बढाएर प्रचार गरेको विषय समावेश थिए। तर, घिसिङले यी आरोपहरूलाई निराधार दाबी गर्दै सात बुँदे लिखित स्पष्टीकरण बुझाएका थिए।