बिर्तामोड–७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, सेवाप्रवाहमा सुधारको माग

बिर्तामोड, चैत १५ । बिर्तामोड नगरपालिका वडा नं. ७ मा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले जनताको गुनासो, सुझाव र माग प्रत्यक्ष सुन्नका लागि आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले नगरपालिकाको सेवा प्रवाह सुधार गर्न सुझाव दिएका छन्।

बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित जेष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा नगर उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख नगेन्द्र सग्रौला, वडा अध्यक्ष अविरल कृष्ण खरेल, वडा सदस्यहरू, नगरपालिकाका प्रशासन अधिकृत सागर मिश्र, योजना अधिकृत जय तिम्सिनालगायतको उपस्थिति थियो।

कार्यक्रममा करिब २०० जना स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा १०/१५ जना नागरिकले आफ्ना समस्या, गुनासो र सुझावहरू राखेका थिए। सहभागीहरूले उपभोक्ता समिति मार्फत काम गराएपछि फाइल प्रक्रिया मिलाउन कार्यालयमा अनावश्यक झन्झट व्यहोर्नु पर्ने, शुक्रबार कार्यालयमा कर्मचारी नभेटिने, कागजात प्रमाणिकरण गराउन चार जना अधिकृतको हस्ताक्षर आवश्यक पर्ने तर सबै भेट्न कठिन हुने गुनासो गरेका थिए।

त्यसैगरी, वडामा अन्य वडाको तुलनामा कम बजेट विनियोजन गरिँदै आएको, सार्वजनिक स्थलमा सडक बत्तीको आवश्यकता, विकास निर्माणका कामहरूमा नागरिक सहभागिता सुनिश्चित गरिनुपर्ने सुझावहरू पनि कार्यक्रममा उठाइयो। केही सहभागीहरूले नगरपालिकाको समग्र सेवा प्रवाह र विकास कार्यप्रति धन्यवादसमेत व्यक्त गरेका थिए।

कार्यक्रममा उठेका गुनासो, सुझाव र मागलाई सम्बोधन गर्दै उपप्रमुख सग्रौला र वडा अध्यक्ष खरेलले नागरिकका समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले नगरपालिकाले आगामी दिनमा जनतासँग समन्वय गर्दै काम गर्ने बताए।