झापा, चैत २५ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले झापामा सञ्चालित सौर्य ऊर्जा परियोजनालाई ‘विकासको नमूना’ भन्दै प्रशंसा गरेका छन्।

सोमबार शिवसताक्षी नगरपालिका–४, बुलोचोकस्थित झापा इनर्जी प्रालिको सौर्य ऊर्जा प्लान्टको अनुगमन गर्दै समिति सदस्यहरूले झापाबासीको सक्रियता र निजी क्षेत्रको सहभागिताले देशको ऊर्जा क्षेत्रमा उदाहरणीय काम भएको प्रतिक्रिया दिएका हुन्। उनीहरूले यस्तो परियोजनाले ऊर्जा उत्पादनमार्फत रोजगारी सिर्जना र राष्ट्र निर्माणमा योगदान पुर्याउने उल्लेख गरे।
समितिकी सदस्य सीता मिजारले अमेरिका भ्रमणका क्रममा देखेको जस्तै सौर्य प्लान्ट आफ्नै देशमा देख्दा गौरव महसुस भएको बताइन्। “यस्ता परियोजनाले देशको ऊर्जा आत्मनिर्भरतासँगै स्थानीयस्तरमा रोजगारी सिर्जनामा समेत सहयोग गर्छन्,” उनले भनिन्।
सांसद एलपी साँवाको नेतृत्वमा आएको संसदीय टोलीमा सांसदहरू कान्तिका सेजुवाल, डोल प्रसाद अर्याल, मनबहादुर गुरुङ, रुक्मणी राना बराइली र सीता मिजार रहेका छन्। टोलीले झापा इनर्जीको परियोजना अवलोकन गर्नु अघि बिहान नेपाल आयल निगम, चारआली डिपोको पनि अनुगमन गरेको थियो।
झापा इनर्जीका अध्यक्ष एलपी साँवाले परियोजनाका बारेमा जानकारी दिँदै ४ वर्षअघि सुरु गरिएको उक्त सौर्य ऊर्जा परियोजना ८७ करोड रुपैयाँको लागतमा निर्माण गरिएको बताए। २२ विघा क्षेत्रफलमा फैलिएको यो परियोजना १६ महिना अगाडि उद्घाटन भएको हो।
हाल दैनिक ५० हजार युनिटभन्दा बढी विद्युत् उत्पादन भइरहेको जानकारी दिँदै साँवाले परियोजनामा नागरिकको पनि लगानी रहेको र बैंकबाट कर्जा लिएको बताए। उत्पादन भएको विद्युत् प्रति युनिट ७ रुपैयाँ ३० पैसाको दरमा बिक्री गर्ने सम्झौता भएको र कम्पनीले चाँडै आईपीओ खोल्ने तयारीमा रहेको जानकारी पनि समितिलाई गराइएको थियो।
टोलीलाई झापा इनर्जीका प्रवन्ध व्यवस्थापक सुवास भट्टराई, शिवसताक्षी नगर प्रमुख रोशन थोप्रा, वडा अध्यक्षहरू सिकिन पासवान र विष्णु प्रसाईंले स्वागत गरेका थिए।
संसदीय समितिको टोलीले सोही दिन झापा इनर्जीबाहेक अर्को एक परियोजनाको पनि अनुगमन गरेको थियो। समितिको कार्यतालिकाअनुसार तीन दिनभित्र कोशी प्रदेशअन्तर्गत झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न उधोग, भन्सार तथा सरकारी निकायहरूको अनुगमन गरिनेछ।
सांसद साँवाका अनुसार समितिले सम्बन्धित मन्त्रालय, विभाग तथा निकायहरूले गरेका कामको मूल्यांकन गरी समस्या र कारण पहिचान गर्ने र समाधानका उपाय तय गर्ने उद्देश्य राखेको छ।