झापा, बिर्तामोड ,भाद्र २१ नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल सुरु भएको छ। पार्टी नेतृत्वले राजनीतिक, सांगठनिक र विधान संशोधनका साथै विभिन्न आयोगका प्रतिवेदनलाई गहिरो बहसको विषय बनाउँदै त्यसलाई महाधिवेशनको औपचारिक निर्णयमा परिणत गर्ने प्रक्रिया अघि बढाएको हो।

शनिबार १० वटा समूहमा विभाजन गरी प्रतिनिधिहरूलाई आ–आफ्ना क्षेत्रमा तोकिएको प्रतिवेदनमाथि छलफल गर्न लगाइएको छ। यसअघि शुक्रबार महाधिवेशनको प्रारम्भिक सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए।
साथै, निर्वाचन आयोग संयोजक डा. विजय सुब्बा, लेखा आयोग संयोजक डा. पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशव वडाल र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले आ–आफ्ना प्रतिवेदन महाधिवेशनमा पेस गरिसकेका छन्।
अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुतिपछि प्रतिनिधिहरूलाई स्पष्ट निर्देशन दिँदै फरक मत वा असहमति भए त्यसलाई आ–आफ्ना समूहमा विस्तृत बहसमार्फत प्रस्तुत गर्न आह्वान गरे। उनले प्रतिवेदनलाई केवल औपचारिकता नभई गहिरो छलफलपछि नीतिगत निष्कर्षमा पुर्याउनुपर्ने आवश्यकतामा जोड दिए।