चिमरिया  ‘युएनआईपी युएन ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

बैंकक (थाइल्याण्ड)। थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा सम्पन्न ‘युएनआईपी युएन ग्लोरी अवार्ड २०२५’ कार्यक्रममा नेपालका कृषि–आधारित उद्योग व्यवसायी सुमन चिमरियाले अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार प्राप्त गरेका छन्।

युनाइटेड नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस समारोहमा नौ भन्दा बढी मुलुकका शान्तिवादी नेता, मानव अधिकारकर्मी, कूटनीतिज्ञ तथा सामाजिक अभियन्ताको उपस्थितिमा विभिन्न क्षेत्रका २७ व्यक्तित्वलाई सम्मान गरिएको थियो।

नेपालतर्फबाट १३ जना व्यक्तित्वलाई सम्मान दिइएको कार्यक्रममा चिमरियालाई विशेषत: कृषि–आधारित उद्योगलाई प्रोत्साहन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन गरेको योगदानका आधारमा उत्कृष्टता पुरस्कार प्रदान गरिएको हो।

मेचिनगर नगरपालिका निवासी चिमरिया रितिका डेरी उध्योग ,  चिमरिया ब्रदर्स डेरी एण्ड फुड प्रोडक्ट प्रा.ली र कर्मशील कृषि फर्मका संचालक हुन्। लामो समयदेखि पारिवारिक रूपमा व्यवसायिक नेतृत्व गर्दै आएका उनी लायन्स क्लब अफ धाइजन–चारआलीका अध्यक्ष समेत हुन्।  उनले दुग्धजन्य पदार्थ र बेकरी क्षेत्रमा ‘पन्चामृत ब्राण्ड’लाई परिचित मात्र होइन, स्थापित नामका रूपमा उभ्याएका छन्। स्थानीय किसानसँग सहकार्य गर्दै कच्चा पदार्थ संकलन गर्ने, उत्पादनलाई गुणस्तरीय बनाउने र बजारसम्म पुर्याउने  कार्यमा उनले देखाएको लगनशिलता झापा  क्षेत्रमा मात्र नभई देशभर नै  चर्चित बनेको छ।

पुरस्कार ग्रहण गर्दै चिमरियाले नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि, अनुसन्धान र बजारमैत्री योजनासँग जोड्न सके मात्र देशको समृद्धिको आधार बलियो हुने बताएका थिए। उनले यस पुरस्कारलाई आफ्ना प्रयासहरूको मात्र  नभई सम्पूर्ण कृषक समुदायको परिश्रमप्रतिको सम्मान रूपमा लिएको बताए।

सो अवसरमा नेपालका अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो भने अन्तर्राष्ट्रिय स्तरमा साहित्य, स्वास्थ्य, खेलकुद व्यवस्थापन, व्यवसायिक नेतृत्व, वातावरणीय इञ्जिनियरिङलगायत क्षेत्रका अगुवाहरूलाई पनि उत्कृष्टता पुरस्कार प्रदान गरिएको थियो।