दुर्गा प्रसाई भारतमा पक्राउ

चैत्र १५ गतेको राजावादीहरूको आन्दोलन हिंसात्मक बनेपछि फरार रहेका दुर्गा प्रसाईले भारतको असाम राज्यबाट पक्राउ परेका छन्।

तिनकुने क्षेत्रमा चैत्र १५ गते राजावादीहरूले गरेको आन्दोलन पछि दुर्गा प्रसाई फरार रहेका थिए। उक्त आन्दोलनको क्रममा तिनकुने स्थित एक घरमा आगजनीमा परी एक पत्रकार सुरेश रजक र सडकमा हिँडिरहेका सबीन महर्जनको गोली लागि मृत्यु भएको थियो। त्यस दिनको आन्दोलनमा २० भन्दा बढी व्यक्तिलाई गोली लागेको भनिएको छ।

चैत्र १५ को आन्दोलनमा दुर्गा प्रसाईले आफै गाडी चलाउँदै निषेधित क्षेत्र तोड्न प्रहरीमाथि नै गाडी चढाउन खोजेका थिए। केही समय प्रहरीको फन्दामा परेका प्रसाई तीनकुने क्षेत्रबाट बाहिरिँदै सम्पर्कविहीन बनेका थिए। त्यसपश्चात्, बेलाबेला सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफू फरार नरहेको र समय अनुकूल हुने बित्तिकै फिर्ता आउने बताउँदै आएका थिए।

उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ।