झापा। यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण सयौं सेवाग्राहीहरू ठगिएका छन्। कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नक्कली गरी एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि यसलाई रोक्न कार्यालयले कुनै पहल नगरेको आरोप छ।

लामो समयदेखि यातायात व्यवस्था कार्यालय झापामा लेखापढीको काम गर्ने विशाल भण्डारीले सेवाग्राहीहरूबाट लाखौं रुपैयाँ ठगी गरेर फरार भएका छन्। उनले कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नक्कली गरी मोटरसाइकल, स्कुटर, ट्याक्टर आदिको कर तिर्ने नाममा रकम उठाए पनि कार्यालयमा दाखिला नगरेको खुलासा भएको छ।
कर तिर्न कार्यालय पुग्ने सेवाग्राहीहरूले सिस्टममा कर बाँकी देखेपछि ठगीको थाहा पाए। भण्डारीले दिएको बिलबुकमा कार्यालयको छाप र अधिकृतको हस्ताक्षर भए पनि त्यो नक्कली रहेको पुष्टि भएको छ। तर, कार्यालयले यस्तो दुरुपयोग रोक्न कुनै ठोस कारबाही नगरेको सेवाग्राहीहरूको गुनासो छ।
पीडितहरूले आफ्नो समस्याको बारेमा कार्यालय प्रमुख प्रेम प्रसाद सापकोटासमक्ष बारम्बार गुनासो राखे पनि उनले कुनै सुनवाई नगरेको आरोप छ। यसैको विरोधमा आज पीडित सेवाग्राहीहरूले कार्यालयमै पत्रकार सम्मेलन गरी ध्यानाकर्षण पत्र बुझाएका छन्।
जाँचमा नक्कली बिल, नामसारी नभएका सवारी साधन, रकम दाखिला नभएका केसहरू पाइएका छन्। केही सेवाग्राहीले तिरेको कर सिस्टमबाट नै हटाइएको पाइएको छ। यसबाहेक, कार्यालयका कोठामा राखिएका फाइल, छापहरू बिचौलियाले आफ्नै नियन्त्रणमा राखेको पाइएको छ।
यस विषयमा पत्रकारहरूले प्रश्न गर्दा कार्यालय प्रमुख सापकोटाले सतही जवाफ दिएर मुद्दालाई पन्छाउने प्रयास गरेको आरोप छ। उनले सेवाग्राहीहरूलाई सुविधा दिनुको सट्टा अनावश्यक ढिलाइ र शास्ती दिने गरेको पीडितहरू बताउँछन्।
सेवाग्राहीहरूले भ्रष्टाचार रोक्न तत्काल कारबाही गर्न माग गरेका छन्। उनीहरूले सरकार, प्रहरी र अन्य सम्बन्धित निकायहरूले हस्तक्षेप गरी ठगीमा संलग्न व्यक्तिहरू विरुद्ध कारबाही गर्न दबाव दिएका छन्।
यातायात व्यवस्था कार्यालय झापामा सेवाग्राहीहरूसँग भेदभावपूर्ण व्यवहार गरिएको आरोप पनि लागेको छ। सेटिङ मार्फत आएका सेवाग्राहीहरूको कागजात तुरुन्तै प्रशोधन गरिदिइए पनि सामान्य सेवाग्राहीहरूलाई अनावश्यक ढिलाइ गराइएको छ। अस्थायी सवारी चालक अनुमति पत्रको कार्ड बिहान १० बजेदेखि वितरण गर्नुपर्ने भए पनि २ बजेपछि मात्र वितरण गरिन्छ भने सेटिङमा आएकाहरूको कार्य तुरुन्तै सम्पादन गरिन्छ। यस विषयमा पत्रकारहरूले जिज्ञासा राख्दा कार्यालय प्रमुख प्रेम प्रसाद सापकोटाले सतही जवाफ दिँदै मुद्दालाई पन्छाउने प्रयास गरेको आरोप छ। यसले कार्यालयको पारदर्शिता र निष्पक्ष सेवा प्रवाहमा गम्भीर प्रश्न उठाएको छ।