काठमाडौं, वैशाख १– नेपाल सुपर लिग (एनएसएल) २०२५ को क्वालिफायर चरणमा धनगढी एफसीले प्रवेश गरेको छ। झापा एफसीलाई १-० ले पराजित गरेपछि उसले शीर्ष स्थान बनाउन सफल भएको हो।

दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफमा धनगढीले ६१औँ मिनेटमा गोल गर्न सफल भयो। सर्जियो बार्बोजाले दायाँबाट क्रस पास गरेका थिए, जुन सिक्स-यार्ड बक्सभित्र रहेका हिजाजीले हान्न प्रयास गरे। तर, झापाका दिपेश धिमालको खुट्टामा लागेर बल गोल भित्रियो। गोलकिपर एन्जल श्रेष्ठले बल रोक्न असमर्थ रहे।

यस जितसँगै धनगढीले ५ खेलमा ११ अंक जोडेर टेबलको शीर्षमा पुगेको छ। यसअघि नै साविक विजेता ललितपुर सिटीले क्वालिफायरमा स्थान बनाइसकेको छ। झापाको यो पहिलो हार हो। ५ खेलमा ४ अंक मात्र जोड्न सफल झापा छैटौं स्थानमा छ, जसले गर्दा उसको प्लेअफको सम्भावना कमजोर भएको छ।