झापा, बिर्तामोड – नेपाल फ्लिम सोसाइटी, कोशी प्रदेशको आयोजनामा ‘नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव र पर्यटन प्रवर्द्धन’ विषयक अन्तरक्रियात्मक तथा एक दिवसीय गोष्ठी सम्पन्न भएको छ।

झापाको बिर्तामोड नगरपालिकास्थित हिकोला होटलमा सम्पन्न उक्त गोष्ठीका प्रमुख अतिथि प्रदेश सरकारका माननीय खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की रहनु भएको थियो। कार्यक्रममा नेपाल फ्लिम सोसाइटीका अध्यक्ष तथा बासुदेव चलचित्रका नायक कृष्ण मल्ल सभापतित्व रहेको थियो।

गोष्ठीमा नेपाली चलचित्रकी चर्चित नायिका शर्मिला मल्ल, साहित्यकार तथा सोसाइटीका कोशी प्रदेश अध्यक्ष देवीभक्त श्रेष्ठ लगायत विभिन्न क्षेत्रका कलाकार, स्रष्टा तथा पर्यटनसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्रमा स्थानिय संस्कृतिको प्रभाव र त्यो प्रभावले पर्यटन क्षेत्रको प्रवर्द्धनमा कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा विचार आदान–प्रदान गरेका थिए।नेपाल फ्लिम सोसाइटी, कोशी प्रदेशका अनुसार यस्ता कार्यक्रमहरूले चलचित्र र पर्यटन क्षेत्रबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको छ।
