काठमाण्डौ महानगर प्रहरी प्रमुख पाण्डेको व्यवहारमा परिवर्तन देखिएको छ

मङ्गलबार बिहान काठमाडौँ महानगरपालिकाका इन्स्पेक्टर सबुर बिष्टको टोली ले बालुवाटार क्षेत्रबाट साइकलमा कबाड संकलन गर्न हिँडेका व्यक्तिमाथि दुर्व्यवहार गर्दै साइकल आफ्नो कब्जामा लिएको थियो। तर यस घटनाको सर्वत्र विरोध भएपछि नगरको प्रहरीले उक्त साइकल फिर्ता गर्नुका साथै आफ्नो इन्सपेक्टरबाट कमजोरी भएको स्वीकार गरेको छ। यद्यपि नगर प्रहरीको आधिकारिक धारणा आउने नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्।

अघिल्लो महिना काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गर्न कार्यालय प्रवेश गर्न खोज्दा मेयर बालेन्द्र शाहको मौखिक आदेश भन्दै रोक्न खोजेपछि आलोचित भएका नगर प्रहरी प्रमुख राजु पाण्डे पछिल्ला दिनमा संयमित भएजस्तो देखिन्छन्। त्यस अघिका घटनाहरुमा पाण्डे आफ्ना हर्कतहरु जब्बर र फिल्मी शैलीमा देखिने गरेका थिए।

केही आलोचकले उनलाई महानगर प्रहरी प्रमुख जस्तो नभई मेयर बालेन्द्र शाहको स्वकीय जस्तो व्यवहार गरेको आरोप समेत लगाएका थिए। साथै, केही कर्मचारी संगठनहरु मिलेर नगर प्रहरी प्रमुख पाण्डेमाथि कारबाही हुनुपर्ने माग उठाइरहेका छन्।