मदरसा तालिमुल कुरान विद्यालयलाई रहमान मियाद्वारा ९० हजार बराबरको चिसो पानी कुलर हस्तान्तरण

झापा -बिर्तामोड झापाको बिर्तामोड नगरपालिका–३ मा रहेको मदरसा तालिमुल कुरान प्राथमिक विद्यालयलाई आज एक विशेष कार्यक्रमका बीच चिसो पानी बनाउने कुलर हस्तान्तरण गरिएको छ।

उक्त कुलर बिर्तामोड–७ निवासी युवा व्यवसायी रहमान मियाले व्यक्तिगत रूपमा विद्यालयलाई प्रदान गर्नुभएको हो। गर्मीको मौसममा विद्यालयमा अध्ययनरत बालबालिकाले स्वच्छ र चिसो पानी सहज रूपमा पिउन सकून् भन्ने उद्देश्यले प्रदान गरिएको यो कुलरको मूल्य करिब ९०,००० रुपैयाँ बराबर रहेको जनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सुर्यबहादुर कन्दङ्बाले विद्यालयको समुन्नत विकास र संरक्षणमा सबैको योगदान जरुरी रहेको उल्लेख गर्दै विद्यालयलाई नमुना विद्यालय बनाउने उद्देश्यले दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो।

वडाध्यक्ष कन्दङ्बाले भने, “यो विद्यालय हामी सबैको हो। यसको संरक्षण गर्ने जिम्मेवारी पनि हामी सबैको हो। म वडा नम्बर ६ को वडाध्यक्ष भए पनि यो विद्यालय मेरो वडासँग नजिकै पर्छ। त्यसैले यसलाई नमुना विद्यालय बनाउनु पर्छ भन्ने सोचका साथ मैले रातो किताबमा दुई लाख रुपैयाँ राखेको छु।”

कार्यक्रमको अध्यक्षता विद्यालयकी निमित्त प्रधानाध्यापक रेणुका थापा खातुनले गर्नुभएको थियो भने सञ्चालन अफरोज खानले गर्नुभएको थियो।

कार्यक्रममा शिक्षकहरू तथा विद्यालय परिवारका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विद्यालय परिवारले सहयोगदाता रहमान मियाप्रति आभार व्यक्त गर्दै, यस्तो सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरण अझ सहज, स्वस्थ र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।