काठमाडौं, ६ बैशाख २०८२ — धनगढी एफसी विरुद्धको अपराजित यात्रा कायम राख्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (NSL) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा ललितपुरले धनगढीलाई २-१ ले पराजित गर्दै सिजनको सबैभन्दा ठूलो खेलतर्फ अग्रसर भएको हो।

खेलको सुरुवातमै ललितपुर दबाबमा परेको थियो, जब १६औं मिनेटमा मणि लामाले रातो कार्ड खाँदै मैदान छाडेपछि टोली १० खेलाडीमा सीमित भएको थियो। तर, संख्यात्मक कमीले ललितपुरको आत्मबल घटेन।दोस्रो हाफमा ५७औं मिनेटमा केरभेन्स बेलफोर्टले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए। त्यसपछि ६१औं मिनेटमा धनगढीका जर्न प्रिन्स कार्कीले बराबरी गोल फर्काए।खेलको ७९औं मिनेटमा पापा इबोउ केबेले निर्णायक गोल गर्दै ललितपुरलाई पुनः अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।

यो जितसँगै ललितपुरले धनगढी एफसीसँगको पाँचौं भेटमा पनि अपराजित यात्रा कायम राख्न सफल रह्यो। धनगढीका लागि भने यो पहिलोपटक क्वालिफायर चरणमा पराजय हो।खेल समाप्तिपछि बेन्चमा रहेका खेलाडी र अफिसियलहरू मैदानमा प्रवेश गर्दा केही समय तनावको स्थिति सिर्जना भएको थियो। सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्दै अवस्था नियन्त्रणमा लिएका थिए।
अब ललितपुर सिटी एफसी सिधै फाइनलमा प्रवेश गरिसकेको छ भने, धनगढी एफसीले दोस्रो क्वालिफायर खेल्नेछ। सो खेलमा धनगढीले चितवन र पोखरा बीच हुने एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
