बिर्तामोड, ८ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर २ का १५ जना कृषकलाई बाख्रा वितरण गरिएको छ ।

नगरको मेयर पकेट प्याकेज बाख्रा साटासाँट कार्यक्रम अन्तर्गत समृद्धि पूर्णिमा कृषक समूह सोमबारेका १५ जना कृषकलाई ३/३ वटाका दरले ४५ वटा बाख्रा वितरण गरिएको हो ।
नगर कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष किशोर पौडेलले गोलाप्रथा विधिबाट बाख्रा छनोट गरेर हस्तान्तरण गर्नु भयो ।

नगरपालिकाले पशुपंछि तथा मत्स्य विकास शाखाबाट २०७४ सालदेखि हरेक वर्ष बाख्रा साटासाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस आर्थिक वर्षसम्म आइपुग्दा १६ वटा समूहलाई ७ सय २० वटा बाख्रा वितरण भईसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बाख्रासंगै एक समूहका लागि एउटा उन्नत जातको बिउ बोकासमेत वितरण गर्दै आएको पशुपंछि तथा मत्स्य विकास शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिनु भयो ।
नगरपालिकाले कृषकलाई कुनैपनि क्षति नहोस् भन्ने उदेश्यले बाख्राको विमासमेत गर्दै आएको छ । बिर्तामोडमा मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा र बंगुर साटासाट कार्यक्रम सञ्चालनमा छन् ।