बिर्तामोड–७ मा हाडजोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुँदै

झापा, बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग, Youth Power Foundation को आयोजनामा तथा Spine X Hospital, बिर्तामोडको प्राविधिक सहयोगमा हाडजोर्नी तथा नसा रोग सम्बन्धी एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

वडा अध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुहुँदै स्वास्थ्य सेवा सबैका लागि पहुँच योग्य बनाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो।

शिविर यही २०८२ साल वैशाख १३ गते शनिबारका दिन बिहान १० बजेदेखि जेष्ठ नागरिक भवन, पानीट्याङ्की टोल, बिर्तामोड–७, झापामा सञ्चालन गरिनेछ। स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा सम्बन्धी समस्याबाट पीडित बिरामीलाई विशिष्ट चिकित्सकद्वारा उपचार, उचित परामर्श तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ।

सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित वर्गलाई लक्षित गर्दै आयोजना गरिएको यस शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आयोजक संस्थाले सर्वसाधारणलाई आग्रह गरेको छ।