काठमाडौं, बैशाख १० – नेपाल सुपर लिग (NSL) को दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई १-० ले पराजित गर्दै पोखरा थण्डर्सले पहिलो पटक फाइनलको यात्रा तय गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा पोखराका स्टेफेन समिर विनोङले इन्जुरी टाइममा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। यस जितसँगै पोखरा थण्डर्स अब बैशाख १३ गते हुने फाइनलमा साविक विजेता ललितपुर सिटी एफसीसँग उपाधिका लागि भिड्नेछ।
गत सिजन प्लेअफसम्म पुगेको पोखरा थण्डर्स त्यसबेला दुवै क्वालिफायरमा पराजित हुँदै बाहिरिएको थियो। तर, यस पटक एलिमिनेटर र क्वालिफायर दुबै चरण पार गर्दै पोखराले उत्कृष्ट पुनरागमन गरेको हो।
उता, लगातार दुई सिजन उपविजेता बनेको धनगढी एफसी यसपटक पनि दुवै क्वालिफायरमा पराजित हुँदै फाइनल पुग्न असफल रह्यो।
नेपाल सुपर लिगको फाइनल खेल अब पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच रोमाञ्चक भिडन्तको रुपमा बैशाख १३ गते हुने तय भएको छ।