आज जनैपुर्णिमा ,रक्षावन्धन र क्वाटी पर्व मनाइदै

बिर्तामोड, झापा  साउन  २४ / आज सावन शुक्ल पूर्णिमाका दिन देशभर जनै पूर्णिमा, रक्षा बन्धन र क्वाटी खाने पर्व धुमधामका साथ मनाइँदैछ। 

सावन शुक्ल पूर्णिमाका दिन पर्ने जनै पूर्णिमा आज देशभर विभिन्न धार्मिक विधिअनुसार मनाइँदैछ। बिहानै नदी, तलाउ वा पोखरीमा स्नान गरी ब्राह्मण, क्षत्रिय समुदायका पुरुषहरूले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने चलन छ। जनैलाई सत्य, अनुशासन र पवित्र जीवनको प्रतीक मानिन्छ। यस अवसरमा ऋषि तर्पणी, देव पूजा र दान दिने परम्परा पनि छ। धार्मिक ग्रन्थअनुसार, यस दिन स्नान र दान गरे पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

आज देशभर दिदीबहिनीले दाजुभाइको हातमा रक्षा सूत्र बाँधेर दीर्घायु र सुख–समृद्धिको कामना गर्ने रक्षा बन्धन पर्व मनाइँदैछ। रक्षा सूत्रलाई अशुभ शक्तिबाट जोगाउने प्रतीक मानिन्छ। बदला स्वरूप दाजुभाइले बहिनीलाई दक्षिणा वा उपहार दिने परम्परा रहँदै आएको छ। यो पर्वले परिवारमा प्रेम, आपसी सहयोग र एकताको सन्देश दिन्छ। घर–घरमा हर्षोल्लासका साथ रक्षा सूत्र बाँध्ने र भाइ–बहिनीबीचको आत्मीयता झल्काउने पर्वका रुपमा लिइन्छ l

आज क्वाटी खाने दिन पनि हो, जसलाई विशेष गरी नेवार समुदायले ‘गुनी पुनि’ भनेर मनाउँछन्। क्वाटी नौ प्रकारका अंकुरित गेडागुडी मिसाएर पकाइने परिकार हो, जसमा अरहर, मस्याउरा, केराउ, हरियो मकै, सोयाबिन, गहत, चना, मुंग र मासको प्रयोग गरिन्छ। वर्षायाममा शरीरलाई तागत दिने र रोगप्रतिरोधक क्षमता बढाउने भएकाले यसलाई औषधीय परिकार मानिन्छ। बिहानैदेखि टोल–टोलमा क्वाटी पकाउने, परिवारसँग बसेर खाने र शुभकामना साट्ने परम्परा छ l

यी पर्वहरुको अवसरमा आफ्नो आफ्नो प्रचलन अनुसार विहानै देखि परिवारजनबीच भेटघाट गर्ने आफ्नो आफ्नो समुदाय र चलन अनुसार पर्व मनाउने यो अनेकतामा एकताको दृश्यले आजको दिन विशेष दिन बनाएको छ।