काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले सदनमा आज पाँचथरको विकासे सरोकारका सवाल उठाएका छन् । पाँचथरबाट निर्वाचित वसन्त नेम्वाङ गत वर्ष माघमा एक्कासि बिरामी परेपछि संसद बैठकमा अनुपस्थित छन् । उनी नियमित उपचारमै छन् ।

आज शून्य समयमा बोल्दै इलाम-२ का सांसद सुहाङले भौतिकमन्त्री हुँदै वसन्त नेम्वाङको पहलबाट २०७५ सालमा ठेक्का लागेर शिलान्यास गरिएको राँके-रवी-भेडेटार सडकको कालोपत्रे सुस्त भएकोमा ध्यानाकर्षण गराए । यो सडक पाँचथर, इलाम, धनकुटा र मोरङ जिल्लालाई सञ्जालमा जोड्ने सामरिक महत्वको हो ।
त्यस्तै पाँचथरकै गौरवको योजना फिदिम रंगशाला शिलान्यासको ५ वर्षसम्म पूर्णता नपाउँदा खेलकुदको विकास र युवाको ऊर्जाशील समय सदुपयोग हुन नसकिरहेको सुहाङले बताएका छन् ।
‘बाढीले फेमे खोलाको पक्की पुल बगाएपछि अवस्था उस्तै छ, यथाशीघ्र बनेन भने फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकाअन्तर्गतका तीन वडाले बर्खामा थप कस्ट भोग्ने देखिएको छ’, उनले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।