अबको अनेरास्ववियु , T-अनेरास्ववियु – उत्सव भट्टराई

Banner photo


भूमिका
सामाजिक परिवर्तन र शैक्षिक क्रान्तिमा अग्रसर विद्यार्थी संगठनहरूमध्ये अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) एक प्रमुख संगठन हो। इतिहासले यसलाई परिवर्तनको संवाहक, विद्रोही चेतनाको अगुवा र विद्यार्थीका हकहितको पहरेदारका रूपमा चित्रण गरेको छ। तर बदलिंदो समय, तीव्र प्रविधिक विकास र डिजिटल क्रान्तिले विद्यार्थी जीवनको आवश्यकता, सोचाइ र अपेक्षा नै रूपान्तरण गरिरहेको सन्दर्भमा, अनेरास्ववियुको कार्यशैली, सोच, नीति र अभियान पनि रूपान्तरण हुनु अपरिहार्य छ। आजको युग डिजिटल युग हो, प्रविधिको युग हो।
सडक आन्दोलनमा अग्रगामी भई विभिन्न परिवर्तनहरूमा हात हाल्ने विद्यार्थी आन्दोलन र यसको प्रमुख घटक अनेरास्ववियु अब व्यवस्था परिवर्तन मात्र होइन, अवस्था परिवर्तनमा समेत लाग्नुपर्छ भन्ने भावका साथ अघि बढ्नु आवश्यक छ । अवस्था परिवर्तनको अर्थ हो – शिक्षाको गुणस्तरमा आमूल सुधार, विद्यार्थी क्षमताको विकास, रोजगारीमुखी तालिम र डिजिटल शिक्षाको स्थायित्व । अनेरास्ववियुले अब केवल माइक समाएर नारा दिने संगठन होइन, मोबाइल र माउस तर्फ केन्द्रित प्राविधिक संगठन बन्नुपर्ने आवश्यकता छ।
आजको विद्यार्थीको जीवन प्रविधिमा आधारित छ। सूचना, शिक्षा, संवाद, रोजगारी, अनुसन्धान, मनोरञ्जनदेखि सामाजिक अभियानसम्म प्रविधिको प्रयोग अनिवार्य बनिसकेको छ। यस्तो अवस्थामा विद्यार्थीहरूको अग्रगामी संगठन अनेरास्ववियुले प्रविधिसँगको सहकार्यलाई नीति र व्यवहारमा लागू नगर्ने हो भने संगठन आफैँ प्रवाहभन्दा पछि पर्न सक्छ । यस युगमा अबको अनेरास्ववियु केवल नारामुखी, परम्परागत गतिविधिमै सीमित रहने होइन, बरु Technical अनेरास्ववियु बन्नुपर्ने हुन्छ । विद्यार्थी आन्दोलनको भविष्य सुनिश्चित गर्न र विद्यार्थीको जीवनयापनमा सार्थक परिवर्तन ल्याउन अबको अनेरास्ववियु टेक्निकल हुनुपर्छ भन्ने सोच केवल विकल्प होइन, आवश्यकता बनेको छ।


प्रविधि र विद्यार्थीको वर्तमान सम्बन्ध
विद्यार्थी अब केवल किताबी ज्ञानमा सीमित छैन। सूचना प्रविधिको तेज गतिमा भइरहेको विकासले उसको सोच, पढाइको तरिका, र समस्या समाधान गर्ने क्षमता नै रूपान्तरण गरिदिएको छ। अब विद्यार्थी पाठ्यपुस्तकको भर पर्नुको साटो विश्वभरिका शैक्षिक सामग्रीहरूमा पहुँच राख्न थालेको छ। उसले MOOC प्लेटफर्महरू (जस्तै Coursera, edX, Udemy), अनलाइन नोट्स, डिजिटल लाइब्रेरी, शैक्षिक मोबाइल एप्स, भिडियो ट्युटोरियलहरू, ई-बुक्स र अनलाइन कक्षा जस्ता आधुनिक शिक्षण उपकरणहरू प्रयोग गर्न थालेको छ। यसका माध्यमबाट उसले केवल परीक्षा पास गर्नलाई होइन, जीवनका विविध क्षेत्रमा आवश्यक पर्ने सीप सिक्न र व्यावहारिक ज्ञान हासिल गर्न थालिसकेको छ।
अझ महत्वपूर्ण कुरा के हो भने, विद्यार्थीको समस्या समाधान गर्ने शैली पनि पूर्ण रूपमा बदलिएको छ। अब कुनै जटिल कुरा बुझ्न उसले गुगल सर्च गर्छ, युट्युब ट्युटोरियल हेर्छ, च्याटबटहरू प्रयोग गर्छ, र एआई सहायकहरूसँग संवाद गर्छ। उसले भाषाको अवरोध तोडेको छ, सीमित श्रोतको सन्दर्भ हटाएको छ र विश्वको जुनसुकै कुना भए पनि ज्ञानसँग तत्काल सम्बन्ध जोड्न थालेको छ।
यस्तो प्रविधि–केन्द्रित विद्यार्थीलाई प्रतिनिधित्व गर्ने विद्यार्थी संगठनले पनि तिनको सोच, शैली र आवश्यकता अनुसार आफूलाई ढाल्न सक्नुपर्छ। केवल पोस्टर टाँस्ने, नाराबाजी गर्ने र वक्तृत्व गर्ने शैलीमा सीमित रहनु आजको युगमा अपुरो मात्र होइन, अप्रासंगिक बन्न सक्छ। अब विद्यार्थी संगठनले पनि डिजिटल माध्यमबाट संवाद गर्न, अनलाइन प्लेटफर्म प्रयोग गरी कार्यक्रम सञ्चालन गर्न, सदस्यता व्यवस्थापनदेखि सूचना प्रवाहसम्ममा प्रविधिको प्रयोग गर्नुपर्छ।
त्यस्तै, विद्यार्थीका आकांक्षाहरूलाई सम्बोधन गर्न संगठन स्वयंले प्रविधिको नेतृत्व गर्नुपर्छ—जस्तै कोडिङ वर्कशप, साइबर सुरक्षा तालिम, एआई परिचय कार्यक्रम, डिजिटल मार्केटिङ तालिम, र स्टार्टअप समर्थन कार्यक्रम सञ्चालन गरेर।


अब के गर्नु पर्छ अनेरास्ववियुले t- अनेरास्ववियु बन्न ?
१. प्रविधि अपनाउने संगठन :
प्रविधिको प्रयोगले संगठनात्मक कार्यप्रणालीलाई चुस्त, पारदर्शी, जवाफदेही र आधुनिक बनाउँछ। अनेरास्ववियुले पनि प्रविधिको सही प्रयोग गरेर विद्यार्थीहरूको समसामयिक समस्यालाई सम्बोधन गर्न सक्छ। उदाहरणका लागि:
• QR कोड आधारित परिचयपत्र प्रणाली
• अनलाइन सदस्यता र अभिलेख व्यवस्थापन
• इ-वोटिङ प्रणाली अभ्यास
• क्याम्पसको गुनासो संकलन प्रणाली (AI Complaint Box)
• बजेट सार्वजनिक गर्ने डिजिटल पोर्टल
• Mobile App विकास
• MIS प्रणाली (Management Information System)
अनेरास्ववियुले प्रत्येक क्याम्पसमा एक Digital FSU Unit गठन गर्न सकिन्छ, जसले सो क्याम्पसको सम्पूर्ण विद्यार्थीको विवरण, समस्या, गुनासो, सुझाव, कार्यक्रम रिपोर्ट, उपस्थिति विवरण आदि व्यवस्थित रूपमा राख्ने कार्य गर्छ। यस्तो डिजिटल संरचना विकास गर्न सकेमा संगठन सञ्चालनमा सहजता, निरन्तरता र गतिशीलता आउँछ।
यी सबै प्रविधि अपनाउने कार्यले संगठनप्रति विद्यार्थीको भरोसा बढाउँछ।

२. अभियान र प्रचारको प्रविधिमैत्री रणनीति
सामाजिक सञ्जाल आजको युगको सर्वाधिक प्रभावशाली र सशक्त माध्यम हो। विद्यार्थीको बहुसंख्यक समय फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर (एक्स), टिकटक जस्ता प्लेटफर्महरूमा बितिरहेको यथार्थतालाई ध्यानमा राख्दै अनेरास्ववियुका नीतिगत विचार, विद्यार्थी हक–अधिकारका मुद्दा, संगठनका उपलब्धि, रचनात्मक गतिविधि तथा समसामयिक विषयमा प्रभावकारी प्रचार अत्यावश्यक भएको छ। यसका लागि संगठनको प्रत्येक तहमा प्रविधिमैत्री र संगठनप्रति समर्पित डिजिटल ब्रिगेड निर्माण गर्नु जरुरी छ। यस अभियान अन्तर्गत:
• डिजिटल टिम गठन: प्रत्येक जिल्ला, प्रदेश, नगर ,क्याम्पस तहमा डिजिटल टिम गठन गर्नुपर्छ, जसले स्थायी रूपमा सामाजिक सञ्जालमा सक्रिय उपस्थिति जनाउनेछ ।
• सामग्री निर्माण युनिट (Content Unit): ग्राफिक डिजाइन, भिडियो सम्पादन, एनिमेशन, रचनात्मक लेखन र छायांकनमा दक्ष युवालाई परिचालन गरी विषयवस्तु उत्पादन गर्नुपर्छ ।
• सूचना सम्प्रेषणको ढाँचा: केन्द्रबाट तालिका अनुसार सामग्री पठाउने अनि, त्यसलाई एकीकृत रूपमा सम्पूर्ण संगठनले प्रचार गर्ने एकीकृत संचार प्रवाह प्रणाली निर्माण गर्नुपर्छ ।
• Online Campaign Calendar: हरेक महिनाको अभियान तालिका बनाउनुपर्छ , प्रत्येक महिना कुनै न कुनै शैक्षिक, सामाजिक वा राजनीतिक मुद्दा केन्द्रविन्दु बनाउनुपर्छ र त्यसका आधारमा साप्ताहिक सामग्री वितरण गर्नुपर्छ ।
• चुनावी विशेष रणनीति: संघीय, प्रदेश, स्थानीय तथा विद्यार्थी संघ चुनावमा अनेरास्ववियुले आफ्ना विचारहरू जनमानसमा पुर्‍याउन Election Digital War Room तयार गर्नुपर्छ, जसले अध्ययन–विश्लेषणमा आधारित रचनात्मक कन्टेन्ट बनाउनेछ । “अन्य जस्तो हैन, हामी फरक छौँ” भन्ने सन्देश दिन “policy-based, data-backed and design-driven” सामग्री विकास गर्नुपर्छ ।
• Multimedia प्रयोगमा सशक्तता : केवल स्टाटिक पोष्टभन्दा बाहिर निस्केर डकुमेन्ट्री, पोडकास्ट, भर्चुअल मिटिङ, माइक्रो–इन्टरेक्टिभ वेबसाइट, टिकटक रील्स, युट्युब सिरीज आदिमा ध्यान दिने नीति लिनुपर्छ ।
• Regional Language Content: प्रदेशअनुसार भाषिक विविधता समेट्ने कन्टेन्ट बनाउनुपर्छ , जसले आ–आफ्नो समुदायसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सहयोग पुर्‍याउनेछ।
• Feedback System: जनमत संकलनका लागि पोल्स, गूगल फारम्स, क्विज, र कमेन्ट सिस्टमको प्रयोग गरेर विद्यार्थीको विचारलाई संगठनको निर्णय प्रक्रियासम्म पुर्‍याउने संयन्त्र तयार गर्नुपर्छ ।
• AI Tool को उपयोग : सामग्री विश्लेषण, ट्रेन्ड पहिचान, कन्टेन्ट आइडिया जेनरेशन, कार्यक्षमता वृद्धि, भाषानुवाद तथा स्वतः डिजाइन निर्माणका लागि AI सहायक टुलहरूको प्रयोग गर्नुपर्छ ।
• सोसल मिडिया Analytics प्रणाली: कुन कन्टेन्ट कत्तिको प्रभावकारी भयो भन्ने डाटा संकलन गरेर, त्यसको आधारमा रणनीति परिवर्तन गर्ने सिस्टम तयार गर्नुपर्छ ।
• Digital Literacy Bootcamp: अनेरास्ववियुका सदस्य तथा प्रचारकलाई डिजिटल प्रचारप्रसार, साइबर सुरक्षा, जिम्मेवार संवाद, कन्टेन्ट निर्माण तथा नफरतपूर्ण भाषाबाट जोगिने सम्बन्धी तालिमहरू नियमित सञ्चालन गर्नुपर्छ ।
३. प्रविधि शिक्षामा पहुँच विस्तार गर्ने रणनीति
विद्यार्थीको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्न अनेरास्ववियुले डिजिटल सामग्री, अनलाइन ट्युटोरियल, सीपमूलक कक्षा, Computer Training, Coding Bootcamp, Graphic Design Training आदि सञ्चालन गर्नुपर्छ। यसले संगठनको उपयोगिता बढ्छ र विद्यार्थी प्रत्यक्ष लाभान्वित हुन्छन्।
४. डेटा आधारित नेतृत्व र नीतिनिर्माण
अब अनुमानमा आधारित हैन, डेटा र प्रमाणमा आधारित नीति र रणनीति निर्माण गर्नुपर्छ। कुन क्याम्पसमा कति विद्यार्थी छन्, कस्ता समस्या छन्, कुन कार्यक्रम कति प्रभावकारी भयो भन्ने तथ्यांकलाई विश्लेषण गरेर काम गर्ने प्रविधिमैत्री नेतृत्व आवश्यक छ। यसका लागि:
• Google Form/AI survey tool प्रयोग
• Dashboard Visualization System
• Real-Time Feedback System
जस्ता उपकरण प्रयोग गर्न सकिन्छ।
५. प्रविधि शिक्षामा पहुँच नभएका वर्गलाई जोड्ने दायित्व
अनेरास्ववियु Technical मात्र भएर हैन, समावेशी पनि हुनुपर्छ। प्रविधिमा पहुँच नभएका विद्यार्थीहरूलाई Digital Literacy तालिम, कम्प्युटर Access, Free WiFi Zone आदि कार्यक्रममार्फत समावेशी बनाउनु आजको आवश्यकता हो।
६. पारदर्शिता र जवाफदेहिता प्रविधिद्वारा सुनिश्चित
आफ्नो वार्षिक बजेट, योजना, निर्णय र कार्यक्रम सार्वजनिक गर्न वेबसाइट वा App माध्यम प्रयोग गर्न सकिन्छ। यो कार्यले नेतृत्वलाई जवाफदेही बनाउँछ र विद्यार्थीको विश्वास बढाउँछ।
७. प्रविधिबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्यार्थी संजाल विस्तार
अबको अनेरास्ववियुले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली विद्यार्थीको आवाज पुर्‍याउनुपर्छ। Zoom, Webinar, Virtual Meet, Google Meet जस्ता प्लेटफर्मबाट अन्तरक्याम्पस संवाद तथा अन्तर्राष्ट्रिय विद्यार्थी संगठनसँग सहकार्य सम्भव छ।
८. डिजिटल छात्रवृत्ति सूचना प्रणाली विकास
नेपालभरका छात्रवृत्ति कार्यक्रमहरू, अनलाइन फारमहरू, आवेदन समयसीमा आदि एउटै पोर्टल वा एपमार्फत जानकारी दिने व्यवस्था अनेरास्ववियुले मिलाउन सक्छ। यसले विद्यार्थीहरूलाई ठुलो राहत मिल्छ।
९. Startup र नवप्रवर्तनमा प्रोत्साहन
प्रविधिमा आधारित विद्यार्थी स्टार्टअप, प्रोजेक्ट, ह्याकाथन, डिजिटल प्रदर्शनी कार्यक्रम अनेरास्ववियु मार्फत सञ्चालन गर्न सकिन्छ। यसले सिर्जनशील विद्यार्थीलाई उत्प्रेरणा मिल्छ।
१०. साइबर सुरक्षाको अभियान
डिजिटल युगमा विद्यार्थी साइबर हमलाको सिकार नबन्न, साइबर अपराध र सुरक्षाको सम्बन्धमा सचेतना अभियान चलाउनुपर्छ। अनेरास्ववियुले यसमा भूमिका खेल्न सक्छ।
११. ग्रामीण क्षेत्रमा प्रविधि विस्तारको नेतृत्व
शहरमा केन्द्रित प्रविधिलाई ग्रामीण विद्यार्थीसम्म पुर्‍याउन अनेरास्ववियुले सामुदायिक क्याम्पसहरूसँग सहकार्य गरेर Computer Lab स्थापना, Internet Access र डिजिटल तालिम सञ्चालन गर्न सक्छ।
१२. भाषा तथा संस्कृतिमा प्रविधिको समावेश
स्थानिय भाषा र संस्कृतिमा आधारित App वा Content बनाउने प्रोत्साहन, नेपाली भाषामा प्रविधि सम्बन्धी सामग्री निर्माण अभियानमा अनेरास्ववियु अग्रसर हुन सक्छ।
१३.निर्वाचन प्रक्रिया प्रविधिमैत्री बनाउने पहल
स्ववियु निर्वाचन वा संगठन निर्वाचनलाई सुरक्षित र पारदर्शी बनाउन डिजिटल मतदान प्रणालीको अभ्यास वा परीक्षण आयोजना गर्न सकिन्छ।
१४. संगठनका सबै अभिलेख डिजिटल रूपमा संग्रह
विगतका निर्णय, तस्वीर, गतिविधिको प्रतिवेदन, दस्तावेज आदि डिजिटल आर्काइभमा सुरक्षित राख्ने कार्यले संगठनको निरन्तरता र सन्दर्भ निर्माणमा सहयोग पुग्छ।

निष्कर्ष
अनेरास्ववियुको गौरवशाली इतिहासले राजनीतिक चेतना फैलायो, आन्दोलनको नेतृत्व गर्‍यो, सामाजिक परिवर्तन सम्भव बनायो। अबको आवश्यकता हो त्यो इतिहासलाई भविष्यसँग जोड्ने प्रविधिमैत्री पुल बनाउनु। त्यसका लागि अबको अनेरास्ववियु Technical अनेरास्ववियु हुनुपर्छ।
अब नेतृत्व नाराबाट हैन, डेटा र प्रविधिबाट निर्देशित हुनुपर्छ।
अब संगठन जुलुसबाट हैन, सिस्टम र समाधानबाट सञ्चालन हुनुपर्छ।
अब विद्यार्थीको प्रतिनिधि केवल भाषण गर्ने होइन, कृयाशील, प्राविधिक र सशक्त हुनुपर्छ।
त्यसैले हामी भन्छौं:
अबको अनेरास्ववियु — Technical अनेरास्ववियु!

( लेखक हाल अनेरास्ववियु झापा जिल्ला कमिटी सदस्य हुनुहुन्छ । )