विद्युतीय संरचना मर्मतलाई लोडसेडिङ भन्न पाइँदैन

झापा-उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला फैलाउने तत्वहरु अझै पनि सक्रिय रहेको भन्दै त्यसप्रति कडा आपत्ति प्रकट गर्नु भएको छ ।

नेपाली कांग्रेसले झापाको बिर्तामोडमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत् उत्पादनमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्थामा केही व्यक्ति तथा समूहले नियोजित रुपमा लोडसेडिङको भ्रम फैलाएर जनतामा त्रास सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो ।

विद्युतीय संरचना मर्मतलाई लोडसेडिङ भन्न पाइँदैन मन्त्री खड्काले उत्पादनको भार थेग्न नसकेका पुराना विद्युतीय संरचनाहरुको मर्मत सम्भार तथा स्तरोन्नति गर्दा केही समयका लागि बिजुली आपूर्ति बन्द हुन सक्ने स्वीकार गर्नु भयो । तर, यसलाई नै लोडसेडिङका रुपमा व्याख्या गरी जनतालाई भ्रमित पार्ने प्रयास भइरहेकोमा उहाँले आक्रोश व्यक्त गर्नुभयो।

‘मर्मत सम्भारलाई लोडसेडिङ भन्न पाइँदैन । यो प्राविधिक कुरा हो र यसलाई बङ्ग्याएर प्रस्तुत गर्नु गलत हो’, मन्त्री खड्काले भन्नुभयो ।

विद्युत निर्यातबाट १७ अर्ब आम्दानी, व्यापार घाटा घटाउने लक्ष्य :मन्त्री खड्काले पछिल्ला वर्षहरुमा नेपालमा विद्युत उत्पादन उल्लेख्य रुपमा बढेको जानकारी दिनुभयो । गत वर्ष नेपालले विद्युत बिक्रीबाट १७ अर्ब रुपैयाँ आम्दानी गरेको बताउँदै उहाँले भारत र बंगलादेशमा विद्युत निर्यात गरेर बढ्दो व्यापार घाटा कम गर्न सरकारले कदम चालिसकेको बताउनुभयो ।