भदौ ६ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) आन्दोलनमा उत्रिएको छ। त्यसै क्रममा शुक्रबार देशव्यापी रुपमा प्रदर्शनसँगै झापामा पनि विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ।

प्याव्सनले विधेयकमा समावेश गरिएका निजी शैक्षिक संस्थासम्बन्धी ‘अव्यवहारिक र अन्यायपूर्ण प्रावधान’ खारेज गर्नुपर्ने माग अघि सारेको छ। उनका अनुसार विधेयकमा उल्लेखित ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने, विद्यालयले उत्पादन नगर्ने सामग्रीजस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउन खोजिएको प्रावधान पनि अस्वीकार्य रहेको छ।
झापामा रहेका १५ वटै पालिकाबाट आन्दोलन मा सहभागिता मुलक कार्यक्रम गरिएको प्याव्सन झापाले जानकारी गराएको छ । उक्त कार्यक्रममा जिल्लाभरका विद्यालय बसमा कालो झण्डा राखेर शान्तिपूर्ण र्याली र कोणसभा गरिएको छ l
बिर्तामोडको बिराट पोखरीबाट भद्रपुररोड हुदै मुक्ती चोकमा पश्चिम तर्फ लागेर शान्तीपुर्ण विरोध जनाएको थियो। कार्यक्रममा स्थानीय तहका अभिभावक, शिक्षक तथा विद्यालय सञ्चालकको सहभागिता रहेको प्याव्सनले जनाएको छ।