हर्कलाल मार्गमा तीव्र गतिमा कालोपत्रे तथा संरचनात्मक निर्माण

बिर्तामोड, झापा । शहीद राम मार्ग (हर्कलाल मार्ग) का विभिन्न खण्डहरूमा कालोपत्रे तथा संरचनात्मक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यो कार्य सडक डिभिजन कार्यालय दमकको समन्वयमा सञ्चालन भइरहेको हो।

हाल यस मार्गका तीन खण्डमा आरसीसी ढलान सहित कालोपत्रे निर्माणको काम जारी छ। आनन्दगज चौबाटोदेखि करिब ४५० मिटर उत्तरसम्मको खण्ड अन्तिम चरणमा पुगेको छ र कालोपत्रे कार्य तीव्र रूपमा भइरहेको छ। त्यस्तै, कञ्चनजंघा स्कूल अगाडिको ११०० मिटर सडक खण्ड र एशियन राजमार्गदेखि दक्षिणतर्फ २६० मिटरको अर्को खण्डमा समेत निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ।

“हर्कलाल मार्गको स्तरोन्नति एक चुनौती थियो। तर, हालको स्थानीय सरकारले त्यो चुनौती पार गर्न सफल भएको छ,” बिर्तामोड नगरपालिका वडा नं ४ का अध्यक्ष राहुल शर्माले खुसी व्यक्त गर्दै बताए।

उक्त निर्माण कार्यको अनुगमनका क्रममा स्थानीय सरकारका उपप्रमुख नगेन्द्र संग्रौलाले भने, “हामीले मुख्य सडकहरूलाई प्राथमिकतामा राखी योजना बनाइरहेका छौं। विकासका आधारभूत पूर्वाधार सुदृढ बनाउनेतर्फ हाम्रो स्पष्ट ध्यान छ।”