विजेता ट्रफी वडालाई समर्पण, बिर्तामोड–३ खेलकुदमै अग्रसर

बिर्तामोड, झापा । बिर्तामोड–९ खेलकुद बिकाश समितिको आयोजनामा हालै सम्पन्न वडास्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको बिर्तामोड–३ का खेलाडीहरूले आफ्नो जित वडा कार्यालयलाई समर्पण गरेका छन्। मंगलबार आयोजित एक विशेष कार्यक्रममा टोलीका कप्तान विमान खड्काले विजेता ट्रफी र मायाको चिनो वडाध्यक्ष मदन बुढाथोकीलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकी थिए। विशिष्ट अतिथिका रूपमा वडा सदस्य हरि बास्कोटा, न्यायिक समिति सदस्य टिका खरेल र विजेता टोलीका सम्पूर्ण खेलाडीहरूको उपस्थिति रहेको थियो।

ट्रफी ग्रहण गर्दै वडाध्यक्ष बुढाथोकीले बिर्तामोड–३ खेलकुदको क्षेत्रमा पछि परेको नभई उल्टै निरन्तर सक्रिय रहेको बताए। “हामी आफैंले वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छौं,” उनले भने, “आगामी दिनमा भलिबलसहितका विविध खेलहरूलाई संस्थागत रूपमा अघि बढाउने लक्ष्यसहित वडाले नै प्रतियोगिता आयोजनाको जिम्मा लिने छ।”

उनले खेल पूर्वाधार, खेल सामग्री तथा प्रशिक्षणको आवश्यकता महसुस भएको उल्लेख गर्दै वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै वडा सदस्य हरि बास्कोटाले खेलाडीहरूको लगन, मिहिनेत र विजयप्रति बधाई दिँदै भने, “तपाईंहरूजस्तै युवाहरूको साथमा वडा कार्यालय सधैँ छ।”

कार्यक्रमको सञ्चालन वडा सचिव भीम अधिकारीले गर्नुभएको थियो।