बिर्तामोड–६ खेलकुद विकास समितिद्वारा उपविजेता ट्रफी वडा कार्यालयलाई हस्तान्तरण

बिर्तामोड, झापा । बिर्तामोड–९ मा हालै सम्पन्न वडास्तरीय भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल बिर्तामोड–६ वडा खेलकुद विकास समितिले ट्रफी तथा मायाको चिनो वडा कार्यालयलाई हस्तान्तरण गरेको छ।

मंगलबार आयोजित एक विशेष कार्यक्रममा समितिका प्रतिनिधिहरूले उपविजेता ट्रफी बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवालाई औपचारिक रूपमा प्रदान गरेका हुन्। कार्यक्रम समितिका अध्यक्ष भुवन मेचेको अध्यक्षतामा सम्पन्न भएको हो।

समारोहमा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष कन्दङवा उपस्थित थिए भने विशिष्ट अतिथिमा वडा सदस्य ख्याम अधिकारी, बुट्टाबारी युनाइटेड क्लबका अध्यक्ष हिमाल कन्दङवा, क्लब सचिव रबिन राई तथा वरिष्ठ उपाध्यक्ष मरिचमान राई सहभागी थिए। कार्यक्रमको सञ्चालन वडा खेलकुदका सचिव नुनम कन्दङवाले गरेका थिए।

कार्यक्रममा ट्रफी ग्रहण गर्दै वडाध्यक्ष कन्दङवाले खेलकुदमा सक्रिय रहँदै आएको वडा–६ खेलकुद विकास समितिलाई धन्यवाद दिँदै भने, “खेलकुद युवा पुस्तालाई सकारात्मक ऊर्जा दिने माध्यम हो। वडाले आवश्यक पूर्वाधार, सामग्री र प्रशिक्षणको व्यवस्थाका लागि पूर्ण सहयोग गर्नेछ।”

सो अवसरमा वडा खेलकुद विकास समितिले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै खादा ओढाएर सम्मानसमेत गरेको थियो।