रोङ, इलाम । शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै इलामको रोङ गाउँपालिका कोशी प्रदेशकै उत्कृष्ट पालिकाका रूपमा चयन भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) ले पालिकालाई उक्त सम्मानका लागि छनोट गरेको हो।

प्यानले शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान गर्ने उद्देश्यले गठन गरेको मूल्याङ्कन समितिले रोङ गाउँपालिकालाई कोशी प्रदेशबाट उत्कृष्ट पालिकाको रूपमा चयन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्राध्यापक डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले २५ वटा मापदण्डका आधारमा मूल्याङ्कन गरेको प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमले जानकारी दिनुभयो।
प्यानले आगामी जेठ २६ गते पोखरा सभा गृहमा आयोजना गर्न लागेको विशेष कार्यक्रममा पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने जनाएको छ।
शिक्षा क्षेत्रमा गरिएको लगानी, निःशुल्क र समावेशी शिक्षा, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक सञ्चालन, स्थानीय पाठ्यक्रम तथा प्रविधि र सुशासनजस्ता सूचकहरूमा मूल्याङ्कन गरिएको थियो। तीमध्ये शिक्षामा लगानीमा ३० अंक, निःशुल्क र समावेशीतामा १०, दीर्घकालीन योजनामा १०, असल अभ्यासमा २०, प्राविधिक पक्षमा १०, स्थानीय पाठ्यक्रम तथा प्रविधिमा १० र सुशासनमा १० अंक तोकिएको थियो।
रोङ गाउँपालिकाले प्रविधिमैत्री विद्यालय निर्माण गर्नुका साथै अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। पालिकाभित्रका विद्यालयहरूमा महिनामा एक दिन विद्यार्थीहरू घरमै बस्ने र अभिभावकहरू विद्यालयमा गएर अध्ययन गर्ने अभ्यास थालिएको शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिनुभयो।
त्यसैगरी, पालिकाले विज्ञान प्रदर्शनी, बाल बचत खाता जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताउनुभयो। “शिक्षालाई हामीले प्राथमिकतामा राखेका छौं, यो मूल्याङ्कनले काम गर्ने साथीहरू र पालिकालाई थप हौसला मिलेको छ,” अध्यक्ष स्याङ्बोको भनाइ छ।
पालिकाभित्र हाल ३० वटा सामुदायिक तथा २ वटा संस्थागत विद्यालय सञ्चालनमा छन्। गत वर्ष भने इलामकै सूर्योदय नगरपालिका कोशी प्रदेशबाट उत्कृष्ट पालिकाको रूपमा चयन भएको थियो।