बिर्तामोड, झापा । वैदेशिक रोजगार व्यवसायी संघ झापाले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन्। संघले पहिलोपटक बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा उल्लेख्य सहभागिता देखिएको हो।

रक्तदान कार्यक्रम संघको पहलमा र नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। केही दिनअघि सम्पन्न अधिवेशनबाट निर्वाचित संघको नयाँ नेतृत्वले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख प्रसाईंले नगरभित्र सञ्चालित म्यानपावर कम्पनीहरूलाई नगरपालिकामा सूचीकृत हुन आग्रह गर्नुभयो। उहाँले “कसैलाई जीवनदान दिने यस्तो कार्यक्रम सराहनीय छ,” भन्दै म्यानपावर व्यवसायीहरूको प्रयासको प्रशंसा गर्नुभयो।
संघका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, संघका निवर्तमान उपाध्यक्ष कर्ण पौडेल, टोल विकास समितिका अध्यक्ष रामबहादुर बस्नेत लगायतले संघले थालेको सामाजिक पहलको स्वागत गरेका थिए।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन महासचिव निरकुमार खत्री (निरन) ले गर्नुभएको थियो।