लायन्स क्लब अफ धाइजन चारआलीद्वारा बृहत् रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ। कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको छ भने महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण तथा क्यान्सरसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

स्वास्थ्य शिविरमा ७२ जना महिलाहरूको सहभागिता रहेको थियो। शिविरमार्फत महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको जोखिम, प्रारम्भिक लक्षण, रोकथामका उपाय तथा समयमै परीक्षणको महत्वबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष सुमन चिमरिया, निवर्तमान अध्यक्ष टिकाराम रिजाल, संस्थापक अध्यक्ष हरि घिमिरे, पूर्व अध्यक्ष धन बा तामाङ तथा जगन भट्टराईको सहभागिता रहेको थियो।

लायन्स क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा, रक्त अभाव न्यूनीकरण तथा क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।