झापा । पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको नेकपा (एकीकृत समाजवादी) ले ठहर गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको उपलब्ध नेताहरूको बैठकले विगतदेखि नै पार्टी र नेताहरूविरुद्ध चल्दै आएको षड्यन्त्रको निरन्तरताका रूपमा अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानुनी र राजनीतिक प्रतिवाद गरिने बताए। उनले अदालतबाट क्लिन चिट लिएर यो पूर्वाग्रही कदम भएको सन्देश दिने तयारी भइरहेको जानकारी दिए।