
काठमाडौं । संघीय खानेपानी मन्त्रालयको आयोजनामा संघ, प्रदेश र स्थानीय तहबीच खानेपानी क्षेत्रको अधिकार बाँडफाँडबारे उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकका प्रमुख अतिथि संघीय खानेपानी मन्त्री प्रदीप कुमार यादव हुनुहुन्थ्यो।
कार्यक्रममा कोशी प्रदेशका खानेपानी मन्त्री एकराज कार्की, बागमती प्रदेशका मन्त्री श्यामबहादुर खड्का, गण्डकी प्रदेशका मन्त्री फडिन्द्र देवकोटा, कर्णाली प्रदेशकी मन्त्री विजया बुढा, तथा सुदूरपश्चिम प्रदेशका मन्त्री सुरेन्द्रबहादुर पाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। तर, मधेस प्रदेश र लुम्बिनी प्रदेशका खानेपानी मन्त्रीहरू अनुपस्थित रहेका थिए। साथै, सातै प्रदेशका खानेपानी मन्त्रालयका सचिवहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

बैठकमा संघीय खानेपानी आयोजनाका ऐन तथा विनियमबारे विशेष छलफल गरिएको थियो। संघीय संरचनामा खानेपानीसम्बन्धी अधिकार व्यवस्थापनलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी र नीतिगत सुधारबारे गहन विमर्श गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, बैठकबाट आउने निष्कर्षले संघ, प्रदेश र स्थानीय तहबीच खानेपानी सेवा वितरणको स्पष्ट दायरा निर्धारण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।