बिर्तामोडका पदम बिष्ट ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

बिर्तामोड, असार ५ ।
प्रहरी चौकी बिर्ताबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बहादुर बिष्ट ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित भएका छन्। उनले इमान्दारिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै चोरीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई उल्लेखनीय सफलता हासिल गरेपछि संगठनको मूल्याङ्कनमा उत्कृष्ट घोषित गरिएको हो।

बिष्टले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देश पालना गर्दै उच्च मनोबल र साहसका साथ कार्य सम्पादन गरेका हुन्। विभिन्न मिति र स्थानबाट चोरी भएका सवारी साधनहरू फेला पार्न सफल उनले बिर्तामोड नगरपालिका क्षेत्रबाट चोरी गरिएका चार थान मोटरसाइकल र एक थान अटोसहित पाँचवटा सवारी साधन फिर्ता गरेका थिए।

उक्त चोरीमा संलग्न झापा बिर्तामोड नगरपालिका–२ का अन्दाजी २० वर्षीय कुमार राजबंशी, वडा नं. ६ का १७ वर्षीय जयकिरा आत्मा, वडा नं. ८ का १३ वर्षीय दीप राजबंशी र १६ वर्षीय प्रतीक खरेललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको छ।

बिष्टले बिर्ताबजारमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउँदै २४ सै घण्टा सक्रिय भुमिका निर्वाह गर्दै आएका छन्। यस क्रममा उनले बिर्ताबजारबासीको मन जित्नसमेत सफलता हासिल गरेका छन्।

प्रहरी संगठनको छवि उजागर गर्न विशेष योगदान दिएका बिष्टलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिनुले अन्य प्रहरी कर्मचारीलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।