बिर्तामोडमा सात दिने लिक्विड सोप र फिनाइल बनाउने तालिम सफलतापूर्वक सम्पन्न

बिर्तामोड, असार ७

सफल तालिम केन्द्रको आयोजनामा असार १ गतेदेखि असार ७ गतेसम्म संचालन गरिएको सात दिने लिक्विड सोप, फिनाइल तथा ट्वाइलेट क्लिनर (हार्पिक) बनाउने तालिम भव्य रूपमा सम्पन्न भएको छ।

तालिमका प्रशिक्षक सन्तोष श्रेष्ठ रहनु भएको यस कार्यक्रमको अध्यक्षता सावित्रा पाठक प्रसाईले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा कोशी प्रदेशका खानेपानी, सिचाइ तथा ऊर्जा मन्त्री माननीय एकराज कार्कीको उपस्थिति थियो भने विशिष्ट अतिथिको रूपमा अग्रज राजनीतिज्ञ तथा समाजसेवी हरिचरण शिवाकोटीले कार्यक्रमलाई सम्मानजनक उपस्थितिमा गराउनु भयो। कार्यक्रममा नेकपा एमाले नगर समिति अध्यक्ष सुवास भट्टराई, बिर्तामोड–३ का वडा सदस्य हरि बास्कोटा, समाजसेवी हिमाल मैनाली र नवीन किशोर बिमलीलगायत अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

तालिममा ६० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सुवास भट्टराईले महिलाको आर्थिक सशक्तिकरणका लागि नेकपा (एमाले) सधैं प्रतिबद्ध रहेको र यस्ता तालिमहरूमा पूर्ण सहयोग गर्ने बताए। हरिचरण शिवाकोटीले देशमै रही सीप र उत्पादनमा आधारित कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले विदेशिएको युवा पुस्तालाई लक्षित गर्दै भविष्यमा ती राष्ट्रहरूले नेपालीलाई फर्काउने दिन आउनेछ भन्दै युवाहरूलाई मातृभूमिमै श्रम गर्न प्रेरित गरे। प्रमुख अतिथि मन्त्री एकराज कार्कीले कार्यक्रमप्रति खुसी व्यक्त गर्दै यस्ता सीपमूलक तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई सरकारी तथा व्यक्तिगत रूपमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री कार्कीले सहभागी महिलाहरूलाई आर्जन गरेको सीपलाई आफ्नो जीवन रूपान्तरणका लागि प्रयोग गर्न प्रेरणा दिनुभयो।

सहभागीहरूले तालिमलाई व्यवहारिक, उपयोगी र प्रेरणादायी अनुभव भएको प्रतिक्रिया दिएका थिए।