शिवसताक्षीमा ७९ वर्षीय वृद्धको नहरमा डुबेर मृत्यु

झापा — झापाको शिबसताक्षी नगरपालिका–७, बैङ्डाँडामा बसोबास गर्ने ७९ वर्षीय राधाकृष्ण सोडारीको नहरमा डुबेर मृत्यु भएको छ।

प्रारम्भिक जानकारी अनुसार, उनी आज बिहान करिब ८:५० बजे घरबाट चौकतर्फ घुम्न जाँदा नगरपालिका वडा नं. ७ र ११ को बीचमा रहेको कन्काई नहरमा डुबेका थिए।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय, झिलझिलेबाट प्रहरी निरीक्षक खड्ग गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा खोजी अभियान चलाएको थियो।

खोजी अभियानको करिब ३५ मिनेटपछि, घटनास्थलबाट करिब ५०० मिटर दक्षिणमा सोडारीको मृत शव नहरमा फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीले मृतकको मृत्युको कारण तथा घटनाको पृष्ठभूमि थाहा पाउन अनुसन्धान जारी राखेको छ।