बिर्तामोड, असार १६ ।
२२औँ राष्ट्रिय धान दिवस मनाइँदै गर्दा झापा जिल्लामा कुल खेतमध्ये करिब ९० प्रतिशत क्षेत्रफलमा अझै रोपाइँ हुन नसकेको देखिएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार आइतबार (असार १५) सम्ममा जम्मा १० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिएअनुसार पर्याप्त वर्षा नहुनु नै मुख्य कारण हो। उनले भने, “अघिल्लो वर्षको तुलनामा यस वर्ष रोपाइँ अझै सुस्त छ, गत वर्षको यही समयमा ११ प्रतिशत रोपाइँ भएको थियो।”
भण्डारीका अनुसार, “यसपटक वर्षा नहुँदा धेरैजसो किसानहरूले खेत सुक्खा रहँदा धान नरोप्ने अवस्था आएको छ। केही बोरिङ सुविधा भएका किसानहरूले मात्र सामान्यरूपमा रोपाइँ गरेका छन्।”

कृषि तथ्यांक अनुसार, झापाको कुल क्षेत्रफल एक लाख ६० हजार ६०० हेक्टर हो। त्यसमध्ये खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको र धान खेती गर्ने जमिन ७५ हजार ४५९.१८ हेक्टरमा फैलिएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले समयमा पानी नपर्दा किसानहरूलाई रोपाइँ गर्न कठिनाइ भइरहेको जानकारी दिए। “वर्षा अभावले किसानहरू चिन्तित छन्, रोपाइँ ढिला हुँदा उत्पादनमा असर पर्ने सम्भावना छ,” विष्टले भने।
धान रोपाइँका क्रममा झापामा परम्परागत हलो जोताइ, छरुवा प्रविधि अन्तर्गत ड्रम सिडर र राइस ट्रान्सप्लान्टर प्रविधिको प्रयोग भइरहेको जानकारी पनि केन्द्रले दिएको छ।