आज हरीशयनी एकादशी मनाइदै 

झापा बिर्तामोड अषाढ २२ हरीशयनी एकादशी हिन्दू धर्ममा असार शुक्ल पक्षको एकादशी तिथिमा मनाइने महत्वपूर्ण व्रत हो, जसलाई देवशयनी एकादशी, पद्मनाभ एकादशी पनि भनिन्छ। यस दिन भगवान विष्णु क्षीरसागरमा शेषनागमाथि शयन गर्न जानुहुन्छ र चार महिनाको चतुर्मास व्रतको आरम्भ हुन्छ भनिन्छ।

यस दिन भगवान विष्णुको पूजा र व्रत गर्दा सबै मनोकामना पूरा हुने र भगवान प्रसन्न हुने धार्मिक विश्वास भनिन्छl पुराणका अनुसार, भगवान विष्णु यस दिनदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना शयनमा रहनुहुन्छ, यस अवधिलाई चतुर्मास भनिन्छ, जसमा व्रत, तपस्या र धार्मिक अनुष्ठान  गरिन्छ र व्रतले पाप नष्ट हुने, पुण्य वृद्धि हुने र मोक्ष प्राप्त हुने जनमानसमा मान्यता रहेको पाइनछ।

“सत्ययुगमा मान्धाता नामक एक चक्रवर्ती सम्राटले आफ्नो राज्यमा लगातार तीन वर्षसम्म वर्षा नपरेपछि अङ्गिरा ऋषिको सल्लाहमा हरिशयनी एकादशीको व्रत गरे। यस व्रतको प्रभावले वर्षा भयो र राज्यमा समृद्धि फर्कियो किवदन्ती रहेको छ l”

यसदिन बिहान उठेर स्नान गरी शरीर शुद्ध गर्ने।भगवान विष्णुको मूर्ति वा चित्र स्थापना गरी पहेँलो फूल, वस्त्र र चन्दन चढाएर षोडशोपचार पूजा गर्ने गरिन्छ l साथै व्रत बस्ने, अन्न नखाने (फलफूल वा दूध सेवन गर्ने गरिएको छ अनि राति जागरण गरी भगवान विष्णुको कथा सुन्ने र सुनाउने गरेर भोली पल्ट द्वादशीको दिन ब्राह्मणलाई भोजन गराउने र दान दिने प्रचलन रहेको छ l 

यस दिन तुलसीको रोपण पनि गरिन्छ, जुन तुलसीलाई भगवान विष्णुको प्रिय मानिन्छ।चतुर्मासको अवधिमा मानिसहरूले आफ्नो रुचि अनुसार केही वस्तुहरू त्याग गर्ने र धार्मिक नियम पालना गर्ने चलन छ।हरीशयनी एकादशीले धार्मिक जीवनमा शुद्धता, संयम र भक्ति प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेल्दछ र यसले सामाजिक सद्भाव र आध्यात्मिक उन्नतिमा मद्दत पुर्‍याउँछ भन्ने जनविश्वास लिइन्छ l