झापा, ११ असोज / जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडको पुनर्निर्माणका लागि झापाली युवा समाज अष्ट्रेलियाले आर्थिक सहयोग प्रदान गरेको छ।

युवा समाजले पुनर्निर्माणमा नेतृत्व गर्दै आउनुभएका पदम श्रेष्ठ, विपिन बजगाई र उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाको नाममा रहेको खातामा नेपाली रूपैयाँ १ लाख ५० हजार जम्मा गरिएको अष्ट्रेलियामा रहनुभएका जनक उप्रेतीले जानकारी दिनुभयो।
शान्ति–सुरक्षा कायम गर्ने प्रहरी कार्यालय नै क्षतिग्रस्त भएकाले आफ्नो स्थानका लागि केही योगदान पुगोस् भन्ने उद्देश्यले २९ जना युवाबाट रकम संकलन गरी सहयोग गरिएको उप्रेतीले बताउनुभयो।
प्रहरी कार्यालय पुनर्निर्माणका लागि स्थानीय विभिन्न संघ–संस्था तथा सामाजिक व्यक्तिहरूले नगद तथा जिन्सी सहयोग गर्दै आएका छन्।
दशैंको टीका अघिनै कार्यालय सञ्चालनमा ल्याउने योजना रहेको निर्माण कार्यमा नेतृत्व गरिरहनुभएका पदम श्रेष्ठले जानकारी दिनुभयो।