बिर्तामोड , झापा असार ३२
झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका ९६ जना नागरिकलाई जग्गाधनी प्रमाण–पत्र (धनीपुर्जा) वितरण गरेको छ।

नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अर्जुनधारा–११ को लक्ष्मीधाप टोलअन्तर्गतका ९६ जना लाभग्राहीलाई धनीपुर्जा प्रदान गरिएको हो। सुरुमा १२८ जनालाई धनीपुर्जा वितरण गरिने योजना भए पनि राजस्व संकलन र अन्य प्रक्रिया नपुगेका कारण बाँकी लाभग्राहीलाई आगामी चरणमा पुर्जा प्रदान गरिने नगरप्रमुख बलदेव गोम्देनले जानकारी दिनुभयो।
सभामुख देवराज घिमिरेले समावेशी र न्यायपूर्ण भूमि वितरणमार्फत समाजमा समानताको अनुभूति गराउने प्रयास सकारात्मक भएको बताउँदै नगरका सबै अव्यवस्थित बसोबासीहरुलाई क्रमशः धनीपुर्जा प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो।
मन्त्री बलराम अधिकारीले पुरानो भूमि ऐन २०२१ ले वर्तमान जटिल समस्या समाधान गर्न नसक्ने भएकाले नयाँ कानुन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भूमिहीन दलित–सुकुम्बासीलाई पौने ६ कठ्ठासम्म निःशुल्क र अन्य अव्यवस्थित बसोबासीलाई तोकिएको राजस्व लिएर जग्गा प्रदान गर्ने नीति स्पष्ट रहेको जानकारी दिनुभयो।
नगर उपप्रमुख खड्गमाया पराजुलीका अनुसार गत जेठ २६ गते सार्वजनिक सूचना जारी गरी आवश्यक कागजातसहित राजस्व बुझाउन आग्रह गरिएको थियो। सो अनुसार प्रक्रिया पूरा गरेका ९६ जना लाभग्राहीलाई यो चरणमा धनीपुर्जा प्रदान गरिएको हो।
कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरी, प्रदेशसभा सदस्य चिन्तन पाठक, नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेबे, विभिन्न सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
नगर प्रमुख गोम्देनले नगरमा रहेका अन्य भूमि सम्बन्धी समस्याहरूसमेत सम्बन्धित निकायका समक्ष प्रस्तुत गरिएको बताउनुभयो।


