झापा प्रशासनको प्रेस विज्ञप्ति : सामाजिक सञ्जालमा गरिएको भ्रामक आरोपप्रति गम्भीर आपत्ति

झापा, बिर्तामोड साउन १  – झापा जिल्ला प्रशासन कार्यालयले स्वतन्त्र नागरिक समाज, भद्रपुरको ब्यानरमा सामाजिक सञ्जाल प्रयोगकर्ता दिपक तिम्सिनाद्वारा सार्वजनिक गरिएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आज साउन १ गते एक प्रेस विज्ञप्ति जारी गर्दै ती आरोपहरू आधारहीन र तथ्यहीन रहेको स्पष्ट पारेको छ।

विज्ञप्तिअनुसार, तिम्सिनाले सामाजिक सञ्जालमा अपशब्द र अशिष्ट भाषा प्रयोग गर्दै कार्यालयमाथि निराधार आरोप लगाएका थिए। सो विषयमा बुझ्नका लागि कार्यालयले उनलाई छलफलका लागि झापामा बोलाएको थियो। छलफलको क्रममा तिम्सिनाले आफु अन्य व्यक्तिको बहकाउमा परेर आक्रोशमा अशोभनीय भाषा प्रयोग गरेको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्।

कार्यालयले सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आफू निरन्तर क्रियाशील रहेको उल्लेख गरेको छ। हालै सुरु गरिएको क्युआर कोड प्रणालीमार्फत नागरिकहरूको गुनासो तथा सुझाव सङ्कलन, नागरिक वडापत्रको प्रकाशन लगायतका उपायहरू पनि सेवा सुधारमा केन्द्रित छन्।

साथै, गृहमन्त्रालयको निर्देशनअनुसार जिल्लाभित्र विचौलिया गतिविधिमा संलग्नहरूमाथि निरन्तर निगरानी तथा कारबाही जारी रहेको जनाइएको छ। केही समयअघि विभिन्न कार्यालयहरूबाट विचौलियालाई नियन्त्रणमा लिई मुद्दा चलाइएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रशासनले नागरिकहरूलाई अनावश्यक दुःख दिने, सेवा शुल्कमा मनपरी गर्ने, बिना रसिद रकम उठाउने, ढिलासुस्ती गर्ने वा झुक्याउने कार्यमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। यस्ता गतिविधिबारे नागरिकहरूले सूचना वा गुनासो दिन सक्नेछन् तर सो क्रममा सार्वजनिक शिष्टाचार र मर्यादा कायम राख्न विशेष अनुरोध पनि गरिएको छ।