झापा बिर्तामोड साउन ४ नगरपालिका–६ नयाँबस्तिमा आइतबार राति पसेको जंगली हात्तीको आतङ्कले विभिन्न घरधनीको घर र सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। मानवीय वा चौपाया क्षति नभए पनि करिब १ लाख २० हजार रुपैयाँबराबरको भौतिक क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।

स्थानीयका अनुसार हात्तीले राति विभिन्न समयमा गाउँका घरमा पस्दै धान, अन्न, घरका संरचना र व्यक्तिगत सामान तोडफोड गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार क्षतिग्रस्त घर र क्षतिको विवरण यसप्रकार छ :
• श्रीप्रसाद माझी (माताटोल) – टाटीको बेरा, वरन्डाको टिन, १५ मन धान, ३ वटा साइकल, काठको टेबल, डाइनिङ टेबल र तिरपाल नष्ट, करिब रु ५० हजार बराबरको क्षति।
• फलेन्द्र राजबंशी – घरको टिनको बेरा भत्किँदा करिब रु ५ हजार बराबरको क्षति।
• बदन राजबंशी – टिनको बेरा भएको भान्सा घर भत्किँदा करिब रु १० हजार बराबरको क्षति।
• तिलि राजबंशी (फुटानीचोक) घरको इँटाको वाल, ढोका र कल भत्किँदा करिब रु २० हजार बराबरको क्षति।
• ओमप्रकाश राजबंशी – घरको वाल र ४ बोरा आलु नष्ट हुँदा करिब रु २० हजार बराबरको क्षति।
• शुक्रराज डंगोल (रंगे डाँडा) – टिनको छानो, इँटाको वाल भएको स्टोर रुमको झ्याल फुट्दा करिब रु १५ हजार बराबरको क्षति।
एकै रातमा सो क्षेत्रमा आएको हात्तीले कुल रु १ लाख २० हजार बराबरको क्षति पुर्याएको प्रहरीको भनाइ छ।
स्थानीयवासीले पटक–पटक हात्तीको आतङ्क रोक्न वन कार्यालय र सम्बन्धित निकायलाई आग्रह गरे पनि ठोस कदम नचालिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।