झापा, साउन ७ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको विशेष पहलमा झापा क्षेत्र नम्बर २ मा रहेका अपांग व्यक्तिहरुलाई झुल तथा लौरो वितरण गरिएको छ।


अर्जुनधारा नगरपालिका–१, २, ३ र ११ नम्बर वडाका ३०० जनालाई झुल र १०० जनालाइ लठ्ठी वितरण गरिएको सभामुख सचिवालय सदस्य हिमाल मैनालीले जानकारी दिनुभयो।
वितरण कार्यक्रम टिकादेवी बस्नेत घिमिरेको नेतृत्वमा वडा तथा टोलस्तरसम्म पुगेर गरिएको हो।
यसअघि कनकाई र बिर्तामोड नगरपालिकामा अपांग, दलित, सुकुम्बासी तथा मजदुर बस्ती लक्षित गरी १ हजार २ सय ५० थान झुल तथा लौरो वितरण गरिएको छ l
अझै अर्जुनधाराका बाँकी स्थान र बुद्धशान्ती गाउँपालिकाका ३ वटा वडामा अपांग व्यक्तिहरुलाई सामग्री वितरण गर्ने कार्यक्रम बाँकी रहेको मैनालीले बताउनुभयो। उहाँका अनुसार आगामी चरणमा थप १ हजार थान झुल वितरण गरिनेछ भने आवश्यकता अनुसार लौरो पनि वितरण गरिनेछ।