भद्रपुरमा लागूऔषध कारोबारी पक्राउ क्रममा प्रहरीले गोली चलायो, भारतीय नागरिक घाइते

झापा, साउन १० । प्रहरीले झापाको भद्रपुरमा लागूऔषध कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाएको छ । 

भद्रपुर ५ मा आज दिउँसो प्रहरीले गोली चलाएर एकजना भारतीय लागूऔषध कारोबारी पक्राउ गरेको हो । काठमाडौँबाट खटिएको लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाएको जनाइएको छ । ब्युरोका एसएसपी कृष्ण कोइरालाले गोली चलाएर आरोपीलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

सो क्रममा भारतीय नागरिक मोहम्मद इस्लामको खुट्टामा गोली लागेको छ । दुई राउन्ड गोली चलाइएकोमा उनको खुट्टामा गोली लागेको हो । उनको साथबाट करिब १२० ग्राम ब्राउनसुगर बरामद भएको छ । घाइते भारतीय नागरिक मोहम्मदलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको छ । घटनाबारे विस्तृत विवरण केहीबेरमा आउने जिल्ला प्रहरी कार्यालयका एसपी राजन लिम्बूले बताए ।