सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु

झापा ।

झापाको दमक नगरपालिका–४ मा आज बिहान सवारी दुर्घटनामा एक साइकल यात्रीको ज्यान गएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–४ चियाबगान नजिकै बिहान करिब ६:४५ बजे उर्लाबारीतर्फबाट दमक आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट ताराबारी जाँदै गरेका साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा घाइते भएका साइकल यात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा बिहान साढे सात बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न बस र बस चालक मकवानपुर हेटौडा–७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।