आज साउन १५ खीर खाएर मनाइँदैछ परम्परागत पर्व

झापा ,बिर्तामोड – साउन १५ / हाम्रो नेपाली समाजमा परम्परागत रूपमा मनाइने खीर खाने पर्व आज साउन १५ देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। विशेषगरी रोपाइँ सकिएपछि थकाइ मार्ने र आपसी मेलमिलाप तथा सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले यो पर्व मनाउने चलन रहिआएको छ।

हाम्रा पूर्वजहरूले कृषिको कामको चटारोपछि विश्राम स्वरूप यो दिन विशेष परिकार खीर बनाई खाने चलन बसालेका थिए। गाई, भैँसीपालनसँग जोडिएको यो संस्कृतिको मुख्य पक्ष हो l गाईभैंसीको घरमै उत्पादित शुद्ध दूध घ्यु र रैथाने चामलको प्रयोगमा प्रकृतिक रुपमा पाइने जडिबुटी जन्य मसला प्रयोग गरेर खीर तयार गरिन्छ l अझ यो चलन आधुनिक संस्कृति पछ्याउनेहरुका लागी आफ्नै खेतबारीको चामल र घरको चुल्होमा बनाएको परिकारको महत्व सायद आजको पुस्ताले सम्झिदैनन तर साउन १५ ले ती पुराना दिनहरूको झल्को दिलाउँछ जहाँ परिश्रम, आपसी सहयोग र माटोको माया संस्कारमा सम्झाउने दिन पनी हो l 

रोपाइँ सकिएपछि मनाइने विश्राम  समर्पणको दिनका रूपमा पनि चिनिन्छ। खीर केवल परिकार मात्र नभई नेपाली संस्कार, संस्कृति र सामूहिकताको प्रतिक पनि हो। यसले परिवार, छिमेकी र आफन्तजनसँगको सम्बन्ध अझ प्रगाढ बनाउने अवसर दिन्छ।

आजको दिन विभिन्न धर्म, जात र समुदायका मानिसहरूले आ-आफ्नो तरिकाले खीर खाएर पर्व मनाइरहेका छन्।