जेष्ठ ४ २०८३
बिर्तामोड । कोशी प्रदेशको परम्परागत कृषि प्रणालीलाई आधुनिक, व्यावसायिक तथा जलवायुअनुकूल बनाउने उद्देश्यसहित चिनियाँ सहयोगमा नयाँ कृषि परियोजना सुरु गरिएको छ ।

चीनको छोङछिङ महानगर जनसरकार तथा छोङछिङ महानगर कृषि तथा ग्रामीण मामिला ब्युरो÷आयोगका वरिष्ठ कृषि विशेषज्ञहरूको टोलीले आधुनिक कृषि प्रविधि र मेसिनरी हस्तान्तरण गरेपछि झापाको बिर्तामोडमा परियोजना औपचारिक रूपमा अघि बढाइएको हो ।
‘भाइब्रेन्ट भिलेज अभियान’ नाम दिइएको उक्त परियोजना चीन–दक्षिण एसिया गरिबी निवारण तथा विकास सहयोग केन्द्रको पहलमा झापाको बिर्तामोडमा सुरु गरिएको हो । परियोजनाअन्तर्गत आधुनिक कृषि उपकरण जडान कार्य सम्पन्न भइसकेको छ भने चिनियाँ प्राविधिकहरूले स्थानीय किसानलाई उपकरण सञ्चालनसम्बन्धी तालिमसमेत दिएका छन् ।
परियोजनामार्फत हालसम्म १२० भन्दा बढी किसानले उन्नत गाईभैँसीपालन तथा आधुनिक मत्स्यपालनसम्बन्धी व्यावहारिक तालिम प्राप्त गरिसकेका छन् । आगामी दिनमा वैज्ञानिक मकैखेती, पशुदानाका लागि हरियो घाँस सुरक्षित राख्ने साइलेज प्रविधि, भण्डारण विधि तथा आधुनिक फार्म व्यवस्थापनसम्बन्धी थप प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ ।
यो परियोजना चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) नेपाल कार्यालयले बिर्तामोड र अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा कार्यान्वयन गरिरहेको छ ।
सीएफआरडी नेपालकी निर्देशक जोउ जिछियाङले परियोजनालाई ‘प्रदर्शन मोडेल’का रूपमा व्याख्या गर्दै यसले नेपाली किसानलाई चीनले गरिबी निवारणमा हासिल गरेका कृषि उपलब्धिहरू प्रत्यक्ष अनुभव गर्ने अवसर दिने बताइन् । उनका अनुसार परियोजनाले स्थानीय समुदायकै नेतृत्वमा दिगो र जलवायुअनुकूल कृषि प्रणाली निर्माणमा सहयोग पु¥याउनेछ ।
चिनियाँ कृषि विशेषज्ञ झाईले कृषि मेसिनरी जडानसँगै पशुपन्छी पालन, मत्स्यपालन, कृषि उपजको कटानीपछिको व्यवस्थापन तथा एकीकृत तरकारी खेती प्रणालीबारे उन्नत प्रविधि हस्तान्तरण गरिएको जानकारी दिए ।
परियोजनाले आधुनिक यान्त्रिक पशुपन्छी तथा मत्स्यपालन प्रणालीको विकास, कृषि फार्म व्यवस्थापन सुधार र किसानलाई प्राविधिक सीप प्रदान गर्न विशेष जोड दिएको छ । यसबाट नेपालको परम्परागत पशुपालन तथा जलकृषि क्षेत्रलाई आधुनिक र दिगो उद्योगका रूपमा विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
परियोजनाको उद्घाटन समारोहमा प्रतिनिधिसभाका पूर्वसभामुख देवराज घिमिरे, कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री चिन्तन पाठक र कृषि विकास मन्त्रालयका अधिकारी इसराइल मसुरीले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावास, कोशी प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
वक्ताहरूले चीनबाट आएका कृषि विशेषज्ञहरूको योगदानको प्रशंसा गर्दै अत्याधुनिक कृषि मेसिनरीले कोशी प्रदेशमा कृषि आधुनिकीकरणप्रति नयाँ आशा र ऊर्जा थपेको बताएका थिए ।
सीएफआरडी नेपालका अनुसार सन् २०२३ मा झापामा गरिएको स्थलगत अध्ययनपछि पशुपन्छी तथा मत्स्यपालनको उच्च सम्भावना देखिएकाले परियोजना अघि बढाइएको हो ।
भाइब्रेन्ट भिलेज इनिसिएटिभअन्तर्गत झापामा पशुपन्छी तथा मत्स्यपालन विकास परियोजना, चितवनमा हाइब्रिड धानखेती प्रदर्शन कार्यक्रम तथा ललितपुर र दक्षिणकालीमा आधुनिक हरितगृह तरकारी खेती प्रणाली सञ्चालनमा रहेका छन् ।
यसैबीच, सीएफआरडीले सामाजिक उत्तरदायित्वअन्तर्गत दमक क्षेत्रका १० सरकारी विद्यालयलाई खेलकुद सामग्रीसमेत वितरण गरेको जनाएको छ । समारोहको अन्त्यमा किसान र चिनियाँ प्राविधिकबीच कृषि फार्मको स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
बिर्तामोड नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले स्वागत गरेका थिए