झापा, साउन २६ । झापाको बिर्तामोड–३ स्थित मेची आँखा अस्पतालनजिकै रहेको मेचीवान होटलबाट लागूऔषधसहित पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

आज दिउँसो ४:३० बजे होटलको दोस्रो तलाको कोठाभित्र लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक (असई) पदम विष्टको टोली खटिएर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बिर्तामोड–८ का २४ वर्षीय पंकज मैनाली, सोही ठाउँका ३३ वर्षीय सरोज पौडेल, भद्रपुर–१० का ४० वर्षीय शंकर चिमरिया, हल्दिवारी–४ का ३४ वर्षीय प्रदीप राई र हुम्ला नाम्खा गाउँपालिका–१ दिङ्गा बस्ने ३५ वर्षीय राजु लामा रहेका छन्।
उनीहरूको साथबाट प्लास्टिकसहित १ ग्राम २७० मिलिग्राम ब्राउनसुगर, विभिन्न कम्पनीका मोबाइल फोन र नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।