झापा, साउन २७ — राष्ट्रिय युवा संघ बिर्तामोड नगर कमिटीको अध्यक्ष पदका लागि तीनजनाले दाबी गरेका छन्।

हिजो नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय, झापाको सभाहलमा शुरु भएको संघको दोस्रो नगर अधिवेशनमा अध्यक्ष पदका आकांक्षीका रूपमा दिनेश अधिकारी, प्रविण सादेम्बा र टीका हस्दा अगाडि आएका हुन्।
अधिवेशनको बन्दसत्र हिजो नै सुरु भएको थियो र सहमतिको प्रयासबाट केही पदहरूमा सहमति जुटिसकेको छ। केही पदको लागि बेलुका अबेरसम्म सहमति गर्ने प्रयास भए पनि टुंगो लाग्न सकेन। त्यसैले आज विहान ९ बजेदेखि पुनः सहमतिको प्रयास गरिने छ। यदि सहमति हुन सकेन भने निर्वाचन प्रक्रिया अघि बढाइने बताइएको छ।
तीनमध्ये दिनेश अधिकारी हाल संघका नगर सचिव छन्। टीका हस्दा यसअघि संघको जिल्ला सदस्य समितिमा काम गरिसकेका छन् भने प्रविण सादेम्बा राष्ट्रिय युवा संघको केन्द्रीय अधिवेशनमा प्रतिनिधि भएर सहभागी भइसकेका छन्।
हिजो उद्घाटन सत्रमा बिर्तामोड नगर इन्चार्ज रोहित ओलीको अध्यक्षता रहेको थियो भने राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदम्वो प्रमुख अतिथि थिए।